
अर्घाखाँची सम्पर्प मञ्चः- समिर गाउँबाट सहर पसेको पढाइमा अब्बल, कम बोल्ने तर गहिरो सोच राख्ने युवक आस्था सहरमै हुर्केकी चञ्चल, हँसिली र हरेक कुरामा सकारात्मक दृष्टिकोण राख्ने युवती। काठमाडौंको त्रिचन्द्र क्याम्पसको चिया पसल जहाँ भविष्यका अनगिन्ती सपनाहरू, तातो चियाको बाफसँगै उडिरहेका हुन्थे एउटै किताब खोज्ने क्रममा उनीहरूको पहिलो पटक भेट कलेजको पुस्तकालयमा भएको थियो। त्यो सानो संयोगले उनीहरूलाई एकअर्काको नजिक ल्यायो।
फरक परिवेशमा हुर्किएका भए पनि उनीहरूका सपनाहरू उस्तै थिए। पढाइ सकेर राम्रो जागिर खाने, सानो घर बनाउने र जीवनभर एकअर्काको साथ निभाउने।घरको जेठो छोरा भएर होला समीरको काँधमा परिवारको ठूलो जिम्मेवारी थियो।वृद्ध बा-आमा र पढ्दै गरेकी बहिनी। उसको सपना केवल आफ्नो लागि थिएन् ऊ आफ्नो परिवारलाई सुखी जीवन दिन चाहन्थ्यो। आस्थाले समीरको यो जिम्मेवारीबोध र उसको सरलपनलाई मन पराएकी थिई। उनीहरू घण्टौंसम्म भविष्यका योजनाहरू बुन्थे, कहिलेकाहीँ कलेजको चौरमा बसेर, कहिले रत्नपार्कको भीडमा हराएर।
तर, समय सधैँ सोचेजस्तो हुँदैन। समीरको स्नातक अन्तिम वर्ष चल्दै गर्दा समिरलाई घरको आर्थिक जिम्मेवारीका कारण समीरलाई पढाइलाई निरन्तरता दिन कठिन भयो र उसलाई तत्कालै केही काम गर्नुपर्ने बाध्यता आइलाग्यो।नेपालमा तत्कालै राम्रो आम्दानी हुने जागिर पाउँनु फलामको चिउरा चपाउनु सरह थियो। अनेकौं रातहरूको अनिदो र छटपटीपछि, उसले एउटा कठोर निर्णय लियो वैदेशिक रोजगारी।
आस्थालाई यो कुरा सुनाउँदा उसको मन भारी भएको थियो।”हाम्रो सपना के हुन्छ त समीर?” उसले रुन्चे स्वरमा सोधेकी थिई।समीरले आस्थाको हात समातेर भनेको थियो। आस्था, म केवल केही वर्षको लागि मात्र जान लागेको हुँ। पैसा कमाएपछि म तुरुन्तै फर्केर आउँछु। अनि हामी हाम्रा सबै सपना पूरा गर्नेछौं। हाम्रो प्रेमले यो दूरीलाई अवश्य जित्नेछ। मलाई विश्वास गर।
आस्थाले आँसु पुछ्दै समीरलाई अँगालो हालेकी थिई। विछोडको पीडा असह्य थियो। तर भविष्यको आशाले उनीहरूलाई बाँधेको थियो। समीरले कसम खाएको थियो। कि ऊ आस्थालाई कहिल्यै धोका दिनेछैन र चाँडै फर्केर उसको सिउँदो रंगाउनेछ।
समीर खाडी मुलुकको तातो बालुवामा पसिना बगाउन थाल्यो। दिनको १२-१४ घण्टाको कठोर परिश्रम, मालिकको गाली र घरपरिवारको यादले उसलाई पलपल सताउँथ्यो। तर पनि आस्थाको मुस्कुराउँदो अनुहार र उनीहरूले सँगै देखेका सपनाहरूले उसलाई हरेस खान दिँदैनथ्यो। हरेक महिना उसले कमाएको पैसाको ठूलो हिस्सा घर पठाउँथ्यो। परिवारमा आर्थिक साहेता बहिनीको पढाइ र घर खर्च चलाउन ऊ रातदिन नभनी खटिरहेको थियो।
उता नेपालमा आस्थाले पनि आफ्नो पढाइ पूरा गरी। उसको मनमा समीरप्रतिको प्रेम र प्रतीक्षा अटल थियो। उनीहरू फोन र इन्टरनेटमार्फत नियमित सम्पर्कमा रहन्थे। समीरले आफ्ना दुःख लुकाएर सधैँ आशाका कुरा गर्थ्यो र आस्थाले उसलाई हौसला दिन्थी। समीरले पठाएको पैसाले घरको अवस्था केही सुध्रिएको थियो तर उसको सपना अझैँ टाढा थिए। सहरमा एउटा सानो घर र आस्थासँगको सुखी जीवन।
समय बित्दै गयो। आस्थाले एउटा प्रतिष्ठित बैंकमा सहायक स्तरको जागिर पाई। ऊ खुसी थिई किनकि अब ऊ पनि आर्थिक रूपमा केही हदसम्म आत्मनिर्भर भएकी थिई। बैंकको नयाँ वातावरण, नयाँ साथीहरू र कामको व्यस्तताले उसको जीवनमा नयाँ रंग थपेको थियो। तैपनि उसको मनको एउटा कुनामा समीरको प्रतीक्षा सधैँ रहिरहन्थ्यो।
समीर विदेश गएको तीन वर्ष बितिसकेको थियो। उसले अझै दुई वर्ष बस्ने योजना बनाएको थियो ताकि फर्किंदा केही राम्रो रकम जम्मा होस्। आस्थाको बैंकको काम राम्रैसँग चलिरहेको थियो। ऊ आफ्नो काममा लगनशील थिई र छिट्टै नै उसको पदोन्नति पनि हुने सम्भावना भएको आस्थाले एक अवेर रातको कुरामा बताएकी थिई।
बैंकको कामको सिलसिलामा आस्थाको भेट अनमोलसँग भयो। अनमोल त्यही बैंकको अर्को शाखामा अधिकृत स्तरमा कार्यरत आकर्षक व्यक्तित्व, मीठो बोली र प्रभावशाली जीवनशैली भएको युवक थियो। उनीहरूको भेट अन्तर-शाखा तालिमको क्रममा भएको थियो। अनमोलले आस्थाको कामको प्रशंसा गर्थ्यो। उसको रूपको तारिफ गर्थ्यो र उसलाई विशेष हो भन्ने महसुस गराउँथ्यो।
सुरुमा आस्थाले अनमोललाई एक सहकर्मीको रूपमा मात्र हेरेकी थिई। तर अनमोलको निरन्तरको निकटता उसको चाखलाग्दो कुराकानी र सँगै बिताएका केही रमाइला पलहरूले आस्थाको मनमा अनमोलप्रति एक किसिमको आकर्षण पैदा गर्न थाल्यो। अनमोलले उसलाई महँगो रेस्टुरेन्टमा डिनरका लागि लैजान्थ्यो। उपहारहरू दिन्थ्यो र उसको हरेक सानो कुराको पनि ख्याल राख्थ्यो। यो सब आस्थाले समीरबाट कहिल्यै पाएकी थिइन् किनकि समीरको भौगोलिक दुरिमा टाढा थियो।
आस्थाको मनमा द्वन्द्व चल्न थाल्यो। एकातिर समीरप्रतिको वर्षौंदेखिको प्रेम, वाचा, र प्रतीक्षा थियो भने अर्कोतिर अनमोलले दिइरहेको खुसी, आकर्षण र सुरक्षित भविष्यको सम्भावना। समीर हजारौं किलोमिटर टाढा थियो। चाहेको समयमा भेट त के डिउटीको बखत सम्पर्क पनि हुदैन्थ्यो उसको आगमन अनिश्चित थियो। अनमोल भने उसको सामिप्यमा थियो। उसको हरेक सुखदुःखमा साथ दिन तयार देखिन्थ्यो।
यो द्वन्द्वमा बिस्तारै अनमोलको आकर्षणले आस्थाको विवेकलाई जित्न थाल्यो। उसलाई समीरको प्रतीक्षा अब बोझ लाग्न थाल्यो। समीरले विदेशबाट गर्ने फोन कलहरू अब आस्थाका लागि झर्को लाग्ने विषय बन्न थाले। पहिले घण्टौंसम्म कुरा गर्ने उनीहरू अब आस्थाले काम छ, मिटिङमा छु वा पछि कुरा गरौंला भनेर छोटोमै कुरा टुङ्ग्याउन थाली। समीरले पठाएका सन्देशहरूको जवाफ कि त आउँदैनथ्यो। कि त घण्टौंपछि एक-दुई शब्दमा आउँथ्यो। राति अबेरसम्म आस्थाको फोन व्यस्त हुन थाल्यो। समीरले फोन गर्दा अक्सर उसको नम्बर वेटिङमा हुन्थ्यो वा स्विच अफ। साप्ताहिक बिदाका दिनहरूमा जुन दिन उनीहरू भिडियो कलमा एकअर्काको अनुहार हेरेर मन बुझाउँथे आस्थाले नेटवर्क छैन, काम परेको छ वा थकित छु। जस्ता बहाना बनाउन थाली। कहिलेकाहीँ समीरले जिद्दी गरेर अडियो कल गर्दा पनि आस्थाको आवाजमा पहिलेको जस्तो उत्साह र आत्मीयता भेटिँदैनथ्यो। कुराकानी औपचारिक र छोटो हुन्थ्यो।
समीरले यो परिवर्तन प्रस्टसँग महसुस गरिरहेको थियो। उसको मनमा चिसो पस्न थालेको थियो। तर उसले आस्थालाई शंका गर्न सकेन। ऊ सोच्थ्यो सायद बैंकको कामको चापले होला वा सहरको जीवनशैलीले उसलाई थकित बनाएको होला। ऊ आफूलाई सम्झाउँथ्यो। आस्था त्यस्तो छैन। उसले मलाई धोका दिन सक्दिन।
एकदिन अनमोलले आस्थालाई विवाहको प्रस्ताव राख्यो। आस्थाले केही समय मागेकी थिई तर उसको मनले निर्णय लिइसकेको थियो। उसले समीरको प्रेम, उसको त्याग र उनीहरूले सँगै देखेका सपनाहरूलाई बिर्सिएर अनमोलको हात समात्ने निर्णय गरी। उसलाई लाग्यो। जीवनमा अगाडि बढ्नुपर्छ र अनमोल नै उसको लागि सही जीवनसाथी हो।
आस्थाले समीरलाई यो कुरा कसरी भन्ने सोच्न सकिन। उसले समीरलाई फोन गर्न छोडी उसका म्यासेजहरूको जवाफ दिन छोडी। समीर छटपटाइरहेको थियो। के भयो भनेर बुझ्न सकिरहेको थिएन। उसले आस्थाका साथीहरूलाई सोधपुछ गर्यो तर कसैले स्पष्ट जवाफ दिएनन्। अन्ततः एकदिन आस्थाले समीरलाई एउटा छोटो सन्देश पठाई मैले आफ्नो जीवनको नयाँ बाटो रोजिसकेँ। कृपया मलाई बिर्सिदेऊ।
यो सन्देशले समीरको संसार हल्लियो। उसको छातीमा कसैले तातो फलाम डामिदिएजस्तो भयो। उसले विश्वास गर्न सकेन। जुन आस्था सँग जीबन बिताउनका लागि उसले आफ्नो रगत पसिना बगाइरहेको थियो। जसको लागि उसले आफ्ना हरेक खुसी त्यागेको थियो। उसैले यति सजिलै उसलाई धोका दिन सक्छे?
समीरले आस्थालाई पटक-पटक फोन गर्ने प्रयास गर्यो तर उसको नम्बर ब्लक गरिएको थियो। सामाजिक सञ्जालका सबै माध्यमबाट पनि ऊ ब्लक भइसकेको थियो। आस्थाले समीरको अस्तित्वलाई आफ्नो जीवनबाट पूर्ण रूपमा मेटाउन खोजेकी थिई।
समीर विक्षिप्त भयो। उसको काममा मन लाग्न छोड्यो। उसको आँखा अगाडि आस्थाको मुस्कुराउँदो अनुहार र उनीहरूका अधुरा वाचाहरू मात्र घुमिरहन्थे। उसले आफूलाई सम्हाल्न सकेन्। चाहे जेसुकै होस् भन्दै उसले नेपाल फर्किने निर्णय गर्यो।
नेपाल फर्केर उसले आस्थालाई भेट्ने प्रयास गर्यो तर आस्थाले उसलाई भेट्न मानिन। उसले थाहा पायो कि आस्थाले अनमोलसँग विवाह गरिसकेकी थिई। समीरको लागि यो अर्को बज्रपात थियो। उसको प्रेम, उसको सपना, उसको भविष्य सबै चकनाचुर भएका थियो। तर उसले आस्थालाई कुनै नराम्रो शब्द भनेन् कुनै वितण्डा मच्चाएन। ऊ चुपचाप आफ्नो गाउँ फर्कियो। एउटा टुटेको मन र अनगिन्ती अनुत्तरित प्रश्नहरू बोकेर।
उसले आस्थालाई कहिल्यै घृणा गर्न सकेन् केवल उसको निर्णयप्रति दुःख मनाउ गरिरह्यो। ऊ सोच्थ्यो सायद परिस्थितिले उसलाई त्यसो गर्न बाध्य बनायो होला। तर उसको मनको गहिराइमा एउटा प्रश्न सधैँ रहिरह्यो के उसको प्रेम यति कमजोर थियो ?
समयले आफ्नो गति लिइरह्यो। समीरले आफूलाई सम्हाल्दै गयो। उसले गाउँमै सानो व्यापार सुरु गर्यो र आफ्नो बा-आमाको हेरचाहमा लाग्यो। उसको मनमा आस्थाको याद कहिलेकाहीँ बल्झिन्थ्यो। तर उसले त्यसलाई आफ्नो कमजोरी बन्न दिएन। उसले विवाह गरेन् सायद उसको मनले अर्को चोट सहन सक्दैनथ्यो।
लगभग दस वर्षपछि, समीर आफ्नो बा-आमालाई नियमित स्वास्थ्य परीक्षणको लागि काठमाडौंको बिर अस्पतालमा लिएर आएको थियो। बा-आमाको रिपोर्ट कुर्दै ऊ अस्पतालको करिडोरमा बसिरहेको थियो। त्यहीबेला उसले आकस्मिक कक्षतिर मानिसहरूको दौडधुप र एक नर्सको आत्तिएको आवाज सुन्यो।त्यहाँ बाट आवाज आएको थियो “ए पोजिटिभ रगत तुरुन्त चाहियो! बिरामीको अवस्था गम्भीर छ। ब्लड बैंकमा पनि स्टक छैन।” खैलाबैला निकै देखिन्थियो।
समीरको रगत समूह ‘ए पोजिटिभ’ भएकाले उसलाई लाग्यो कसैलाई मद्दत गर्नुपर्छ। ऊ आकस्मिक कक्षतिर गयो। नर्सलाई आफू रगत दिन तयार रहेको बतायो। नर्सले कृतज्ञतापूर्वक उसलाई हेरी र तुरुन्तै प्रक्रिया सुरु गर्न लगाई।
उसले छेउको बेडमा अर्धचेत अवस्थामा लडिरहेकी एउटी महिलालाई देख्यो। उसको अनुहार फिक्का थियो। ओठहरू सुकेका थिए। तर त्यो परिचित अनुहार देखेर समीरको मुटु जोरले धड्कियो। ऊ आस्था थिई! समीर स्तब्ध भयो। वर्षौंपछि यस्तो अवस्थामा आस्थालाई देख्दा उसको मनमा अनेकौं भावनाहरू उर्लिए आश्चर्य, दुःख र एक अनौठो अपनत्व। नर्सले बताइन् कि आस्थाको कुनै आकस्मिक शल्यक्रिया गर्नुपरेको थियो र अत्यधिक रक्तश्रावका कारण उसको ज्यान खतरामा परेको थियो। उसको श्रीमान (अनमोल) रगत खोज्न दौडधुप गरिरहेका थिए तर कतै व्यवस्था हुन सकेको थिएन।
समीरले दिएको रगत आस्थाको शरीरमा चढाइँदै थियो। त्यो रगत जुन कुनैबेला खाडिको तातो गर्मिमा आस्थाप्रतिको निस्वार्थ प्रेमले शितलता प्रदान गरिरहेको थयो समिरलाई, आज त्यही रगत आस्थाको जीवन बचाइरहेको थियो। समीर चुपचाप आस्थालाई हेरिरह्यो। उसको मनमा कुनै गुनासो वा कुनै रिस थिएन। केवल एउटा शान्त भावना थियो। सायद यही नै उसले गरेको प्रेमको माग थियो।
केही समयपछि उसको आँखा कमजोर पाराले यताउता घुमे आस्थाको होस् अलिअलि खुल्न थाल्यो।नर्सले समीरलाई भनिन् उहाँको श्रीमान आउँदै हुनुहुन्छ। तपाईंले ठूलो गुन लगाउनुभयो।उहाँलाई जानकारी दिनुपर्छ। समीरलाई थाहा थियो। अब उसको त्यहाँ बस्नुको कुनै अर्थ थिएन। ऊ आस्थाको श्रीमान (अनमोल) सँग आमने-सामने हुन चाहँदैनथ्यो। न त आफ्नो उपस्थितिले आस्थालाई थप असहज बनाउन चाहन्थ्यो। ऊ चुपचाप नर्सलाई धन्यवाद दिँदै “म मेरो बिरामी हेर्न जान्छु” भनेर त्यो कक्षबाट बाहिरियो। उसको मनमा एउटा अनौठो शान्ति थियो। तर एक प्रकारको रिक्तता पनि। ऊ करिडोरमा हिँड्दै गर्दा, उसले टाढैबाट एकजना हतास मुद्रामा आकस्मिक कक्षतिर दौडिँदै गरेको मानिसलाई देख्यो। सायद त्यो अनमोल थियो। समीरले आफ्नो बाटो बदल्यो र भीडमा अलप भयो।
लेखकः- अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका सचिव हुन्।




