
(१)
साथीसँग भेट हुँदा वसन्तको बहार आए जस्तो लाग्छ,
प्रभातमा चरीले चिरबिर गर्दै गाना गाए जस्तो लाग्छ,
भेटमा कता कता नयाँ पालुवा अङ्कुराएको भान हुन्छ,
भोको पेटमा मीठो बास्नादार खाना खाए जस्तो लाग्छ ।
(२)
हरेक मुहारमा सुख र खुसिको घाम झुल्किओस्,
हरेक मनहरूमा सद्भावको आगो सल्किओस्,
मनमा भरिएको ज्ञान र विवेकले हो सुन्दरता देखिने,
दुखेका मनहरूमा छताछुल्ल खुसि छल्किओस् ।
(३)
साख्खे बन्दै भेट्न खोज्छन् मीठो स्वरमा कराउँछन्,
सापट माग्छन् पैसा दुःख देखाई तर तिर्न डराउँछन्,
लेनदेनमा नि कलि लाग्यो, लाज शरम छैन मान्छेमा,
भेट्छु, दिन्छु, तिर्छु भनि स्यालको सिङ झैँ हराउँछन् ।
(४)
सुख आएपनि गइहाल्छ एकै छिन पनि पर्खिदैन,
दु:ख एकफेर आएपछि ज्यान जाला फर्किदैन,
यो जिन्दगी मिलन-बिछाेड र घाम-छायाँ रहेछ,
हात उठाइ तिम्राे विदाइ गर्दा छाती कम्ति चर्किदैन ।
(५)
हेर्छु तिमी र म सँगै बसेका चौतारी पनि शुन्य लाग्ने रहेछ,
तिनै गाउँ अनि ठाउँमा पुग्दा मनमा फेरि जोस जाग्ने रहेछ,
गालाका छाला चाउरी पर्दा अतीत नछाड्ने जति गर्दा पनि,
थाहै नहुने रहेछ यो उमेर यो बैँस कति छिटो भाग्ने रहेछ ।
तुल्सी राम पन्थी
भुमिकास्थान-७
अर्घाखाँची
हाल- भारत (लखनऊ)




