सामञ्जस्यबाट प्रेममा उजास

अर्घाखाँची सम्पर्क मञ्चः- जीवनको साँचोपन, यसको सौन्दर्य त्यतिबेला मात्र पूर्ण बन्छ जब पुरुष र महिला एकअर्कालाई प्रतिस्पर्धी नभई परिपूर्णतामा पुग्ने सहयात्रीको रूपमा स्वीकार्छन्। उनीहरूबीचको भिन्नता बाधक होइन्  त्यो त समन्वयको सेतु बन्छ। यसरी जब सम्बन्ध डर वा दूरीको कारक नभइ समझदारीको अवसर बनाइन्छ तब जीवन अर्थपूर्ण मिठास अझै गहिरिन्छ।

आजको सामाजिक सञ्जालले सम्बन्धलाई भावनाको शान्त पोखरीभन्दा बढी दाबी, नियन्त्रण र आत्मप्रदर्शनको कन्टेन्ट बनाइदिएको छ। तर प्रेमको त गहिराइ अर्कै हो जहाँ स्वतन्त्रता, सम्मान र सहकार्य एकसाथ पग्लिन्छन्। स्वतन्त्रता यदि घमण्ड बन्न पुग्छ भने त्यो स्वाधिनता हैन् सम्बन्धको मूल आत्मालाई विस्मृत गराउने आवरण हो। साँचो प्रेम भनेको एक-अर्काको आत्मालाई नजिकबाट बुझ्दै काँधसँग काँध मिलाएर हिंड्न सक्ने त्यो अदृश्य सहमति हो। जहाँ मौनतालाई पनि संवाद मानिन्छ।

बदलिदो समयमा प्रवृत्ति अझ परिस्कृत भएर हाम्रो समाजमा गहिरिँदै गयो। आजको डिजिटल युगमा मायालु अनुहारभित्र स्वार्थका अनेक तहहरू लुकेर बसेका हुन्छन्। उनीहरूको मुस्कानभित्र कहिलेकाहीँ चातुर्य लुकेको पत्तो हुदैन्। उनका मिठा शब्दभित्र बेपर्वाहपनको सिँगोपन। जब कसैले तपाईंलाई छाड्छ त्यसलाई आफ्नै कमजोरीको रूपमा बुझ्नु आवश्यक छैन् त्यो त उसैको अस्थिर मनोवृत्तिको छायाँ हो। आफैंलाई चिन्नु आफ्ना कमजोरीहरू स्वीकार्नु र आफ्नै अधुरोपनलाई पनि मायालु दृष्टिले अँगाल्नु हो। त्यसबाट सुरु हुने आत्म-सम्मान नै प्रेमको गहिरो आधार हो।

यदि कोहि एक्लो हुन्छ, भने त्यो उसको कमजोरी होइन् जीवनले दिएको अवसर हो। सम्बन्धको आवश्यकता स्वाभाविक भए पनि एक्लोपनसँग मैत्री गर्न सक्ने क्षमता नै आत्म-सशक्तिकरणको पहिलो खुड्किलो हो।

सामाजिक सञ्जालले बनावटी सौन्दर्य र कृत्रिम मुस्कानलाई आदर्श ठान्छ। तर असल पुरुषहरू ट्रेन्डिङ हुँदैनन्  उनिहरू लक्ष बोकेर मौनता भित्र समर्पित भएर खटिन्छन्। असल महिलाहरू मेकअपको तह होइन् आत्मविश्वास र स्वाभाविकताको उज्यालोले चम्किन्छन्। यी पात्रहरू देखावटीका लागि एडिटेड सुन्दरता नभए पनि समाजको मेरुदण्ड हुन्।

पद, प्रतिष्ठा, धन, यश र नामको पछि लाग्ने हाम्रो प्रवृत्ति पनि कतै न कतै सामाजिक सञ्जालको प्रेरणा हो। तर साँचो सम्पत्ति, आत्मिक शान्ति, सुस्वास्थ्य र प्रेमिल सम्बन्धको गहिराइमा हुन्छ। प्रेम आँखाको नजर जुधाई मात्र होइन् प्रत्येक बिहानको एउटा निश्चय हो। साँचो प्रेम सधैं सरल हुँदैन। कहिलेकाहीँ प्रेम मौनतामा हुन्छ।  कहिलेकाहीँ मतभेदमा तर जब मौनता बुझिन्छ। त्यो नै गहिरो संवादमा परिणत हुन्छ। जब मतभेदलाई स्विकार गर्न सकिन्छ र समाधान खोजन सम्भव हुन्छ। असहमतिको बीच पनि मौन संवाद चलिरहन्छ। तब मात्र सम्बन्ध साँचो हुन्छ। 

सामाजिक सञ्जालले प्रेमलाई यस्तो काल्पनिक चित्रमा प्रस्तुत गर्छ जहाँ कुनै गल्ती हुँदैन, आँसु बग्दैनन् र सम्बन्ध सधैं रमाइलो मात्र हुन्छ। तर यथार्थ प्रेम त्यस्तो सजिलो र सधैं चम्किलो हुँदैन। कहिलेकाहीँ त्यो अस्तव्यस्त, अनिश्चित र पीडादायक पनि हुन्छ। र यिनै चुनौतीहरू पार गर्दै बनेको सम्बन्ध नै सबैभन्दा बलियो र स्थायी बन्छ। प्रेमले चमत्कारिक रूपमा सबै कुरा मिलाइदिँदैन् तर प्रेमको उपस्थितिमा ती कुराहरू मिलाउने प्रयास स्वाभाविक हुन्छ।

आजका युवाहरूले प्रेमलाई लाइक कमेन्ट र स्टोरीको रिपलाई प्रतिक्रियामा सीमित गर्न थालेका छन्। तर साँचो प्रेम ती अदेखिएका संवादहरूमा हुन्छ। थकाइ साट्ने मौनता, नजरको बुझाइ र श्रद्धाका साथ स्वीकारोक्तिमा कुनै बनावटीपन हुँदैन। त्यहाँ त केवल आत्मा आत्मासँग कुरा गरिरहेको हुन्छ।

सामाजिक सञ्जालमा देखिने जीवन होइन्  त्यो केवल जीवनको “हाइलाइट रील” मात्र हो। ती मुस्कानहरू ती ट्राभल स्टोरीहरू ती आदर्श जोडीहरू यी सबैको पछाडि चुपचाप बगाइएका आँशुहरू, अधुरा रातहरू र थकित सम्बन्धहरु छन्। त्यसैले आफ्नो यात्रा अरूको बनावटी सौन्दर्य सँग तुलना नगर्नुहोस्। तपाईं स्वयं जस्तै तपाईंको कथा पनि अद्वितीय छ।

हरेक मुस्कानको गहिराइमा कुनै न कुनै पीडाको छायाँ हुन्छ। हरेक सफलताको जगमा नदेखिएको संघर्षको इँटा गाडिएको हुन्छ। प्रेम, जीवन र सम्बन्ध यी सबै निरन्तर सिकाइका अभ्यास हुन् जसलाई समय, धैर्य र आत्मिक परिपक्वताको माग गर्छन्।

प्रेम आत्मा र आत्माबीचको तीर्थयात्रा हो। पवित्र, गहिरो र समयको परीक्षामा दृढ जहाँ दुई व्यक्तिले केवल साथ होइन् मौनता, पीडा, हासो र आँसु पनि साझा गर्छन्। यस्तो प्रेम सजिलै भेटिँदैन् यो सामाजिक सञ्जालको हाटबजारमा किनबेच गरिने वस्तु होइन। आत्मा देखि आत्मासम्मको अविरल प्रवाह, समझदारी र स्वीकृतिको मिलनबाट मात्रै यस्तो प्रेम सम्भव हुन्छ। यस्तो प्रेम केवल संगत होइन् यो पूर्णताको अनुभूति हो। जुन धैर्यताको साधनाले प्राप्ती योग्य हुन्छ। साँचो प्रेम आधुनिक संसारको भीडमा हराउने कुरा होइन बरु त्यो त मौन आत्माको अव्यक्त भाषा हो।

लेखकः- अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका सचिव हुन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top