
अर्घाखाँची सम्पर्क मञ्च, २५६९ औं बुद्ध जयन्ती विशेष समारोह दक्षिण कोरियामा ११ मे २०२५ तारिखका दिन कोरियाको ग्यङ्गी दो, 경기 용인시 처인구 해곡동 224-4, 와우정사 नामक बौद्ध मन्दिर परिसरमा आयोजना हुँदैछ। गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनवटै महत्वपूर्ण घटनाहरू वैशाख शुक्ल पूर्णिमाकै दिन परेको हुँदा यो दिनलाई ‘त्रिशक्तिपूर्ण दिवस’ पनि भनिन्छ। यही गौरवशाली दिनको अवसरमा कोरियामा रहेका नेपाली समुदायले पनि वर्षेनी भव्य रुपमा बुद्ध जयन्ती मनाउने परम्परा कायम राख्दै आएका छन्। यो कार्यक्रम नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा विभिन्न प्रदेशस्तरीय नेपाली संघसंस्थाहरूको संयुक्त रुपमा आयोजना हुँदैछ।
बुद्ध जयन्ती कुनै धर्मविशेषको मात्र पर्व होइन् यसले सम्पूर्ण मानवजातिलाई शान्ति, करुणा र सहिष्णुताको मार्ग देखाउने वैश्विक सन्देश दिन्छ। विशेषगरी विदेशी भूमिमा रहेका नेपालीहरूले यस पर्वलाई केवल धार्मिक दृष्टिले मात्र होइन् आफ्नो संस्कृति र पहिचान जोगाउने अवसरको रूपमा लिएका छन्।
विभिन्न शिलशिलमा दक्षिण कोरिया आएका नेपालीहरु विशेष अवसरहरूमा विविध कार्यक्रमहरु गर्दै नेपाली समुदायभित्रको एकता, धार्मिक सहिष्णुता र समर्पणको मूर्त रूप पनि हो।२५६९ औं बुद्ध जयन्ती विशेष कार्यक्रमको तयारीमा सहभागी संघसंस्थाहरूको विविधता आफैँमा एउटा उदाहरणीय समन्वय हो। कार्यक्रम आयोजक संस्थाहरूमा नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया, प्रदेश १ समाज दक्षिण कोरिया, मधेस प्रदेश समाज, गण्डकी प्रदेश समाज, लुम्बिनी प्रदेश समाज, कर्णाली प्रदेश समाज र सुदूरपश्चिम प्रदेश समाज छन्।
दक्षिण कोरियामा रहेका सबै प्रादेशीक संस्थाको प्रतिनिधित्व हुने गरी गरिएको समन्वयले समग्र कोरियामा रहेका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने काम गरेको छ। प्रत्येक प्रदेश समाजले आफ्नो समुदायका सदस्यहरूलाई सक्रिय सहभागिता गराउने प्रयास गरिरहेका छन्।
सांस्कृतिक र धार्मिक हिसाबले वाउजंग्सा (와우정사) कोरियामा रहेको एक ऐतिहासिक बौद्ध मन्दिर हो जुन शान्त वातावरण, परम्परागत वास्तुकलाको सौन्दर्य र बौद्ध अभ्यासका लागि उपयुक्त स्थलका रूपमा चिनिन्छ। समारोहको समय मध्याह्न ठीक १२:०० बजे तोकिएको छ। समय व्यवस्थापनको दृष्टिले मध्याह्नको समयमा सहभागी हुन सक्नेछन्।
आजको विश्व अन्योल, द्वन्द्व, र विखण्डनको यात्रामा छ। यस्तो सन्दर्भमा बुद्धको मार्गदर्शन अझ सान्दर्भिक देखिन्छ। उनले देखाएको अष्टाङ्गिक मार्ग, सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयास, सम्यक स्मृति र सम्यक समाधि आज पनि मानव समाजका लागि अमूल्य मार्गनिर्देशक बन्न सक्छ।
कोरियामा बसोबास गरिरहेका नेपालीहरूको लागि यो पर्व केवल धार्मिक मात्र होइन, अन्तरआत्माको सम्बोधन, सामाजिक समृद्धिको पहिचान र सहिष्णुताको अभ्यास पनि हो। विदेशी भूमिमा हुँदा आफ्नो संस्कारलाई जगेर्ना गर्नु झनै कठिन हुन्छ। तर यस्ता कार्यक्रमहरूले नेपाली समुदायलाई आफ्नो रहनसहन संकृति सम्झाउने काम गर्छन्।
यस्ता धार्मिक-सांस्कृतिक कार्यक्रमहरू विशेषतः युवा पुस्ताका लागि प्रेरणा स्रोत बन्न सक्छन्। प्रविधिको दुनियाँमा पलायन भइरहेका युवाहरूलाई आफ्ना मौलिक संस्कृति र रहनसहनको जानकारी गराउनु, आत्मगौरवको भावना बढाउनु पनि यस्ता कार्यक्रमहरूको अप्रत्यक्ष उद्देश्य हो।
कार्यक्रममा सहभागी भएर युवाहरूले धर्म र सांस्कृतिक अभ्यासलाई आफ्नै जीवनशैलीमा समाहित गर्न प्रेरणा पाउनेछन्। साथै, आपसी संवाद, सामाजिक सम्बन्ध बलियो बनाउने अवसर पनि पाउँछन्।
२५६९ औं बुद्ध जयन्ती विशेष समारोह केवल एउटा धार्मिक कार्यक्रम होइन, यो विदेशमा रहेका नेपाली समुदायको सहअस्तित्व, एकता र सांस्कृतिक गौरवको प्रतिक हो। यसले हामीलाई गौतम बुद्धको शिक्षालाई सम्झाउने मात्र होइन, तिनलाई व्यवहारमा उतार्न प्रेरित पनि गर्छ।
कार्यक्रम आयोजकहरूले सबै प्रदेश र समुदायलाई समेट्ने प्रयास गरेका छन्। यस्तो समावेशी दृष्टिकोणले कोरियाको नेपाली समुदाय अझ सशक्त, समर्पित र संगठित बन्नेछ। विदेशी भूमिमा नेपाली सभ्यता र बौद्ध दर्शनको झल्को दिने यो समारोह सबैका लागि एक स्मरणीय दिन बन्ने कुरामा कुनै शंका छैन। हामी सबैलाई पुनः स्मरण गरौं बुद्ध जयन्ती भनेको केवल उत्सव मात्र होइन, आत्मअनुशासन, शान्ति र दया अभ्यास गर्ने अवसर पनि हो।अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको तर्फबाट यस कार्यक्रम भव्य सफलताको शुभकामना व्यक्त गर्दछौँ।
“अप्प दीपो भव”




