
देखेर उज्यालोको आभा
तिमी आकाशलाई प्रेम गर्छौ भने
जब कुनै दिन एक-एक गरि
झर्नेछन् ताराहरु
सगरको डिलबाट
जब विलय हुनेछ चम्किरहेको
ज्योतिशिखा
बन्नेछ अत्यासिलो अन्धकार
ठिक त्यतिबेला
खस्छ वा अडिइरहन्छ होला
आकाश प्रतिको तिम्रो प्रेम ?
सुगन्धित फूलहरुको मोहले
तिमी बोटलाई प्रेम गर्छौ भने
समयको रितसँगै
जब एक-एक हर्दै चुँडिइ
जानेछन् कुसुमहरु
बोटको काखबाट
जब विलय हुँदै जानेछ सुगन्ध
अनि बाँकी रहनेछ निर्मम
काँडाहरुको अवशेष
ठिक त्यही बेला
फूलसँगै खस्छ वा काँढामा पनि
अडिईरहन्छ
सुगन्ध प्रतिको तिम्रो आकर्षण ?
कैद गरेर चाहनाको घेराभित्र
कसैको मनोहर आकृति
तिमी प्रेम बाँचिरहेको हो भने,
आँखै अगाडी
जब फिका हुँनेछ अनुहारको तेज
एकदिन
जब मुखमण्डल्मा धर्साहरु
कोरिनेछन्
ठिक त्यही समयमा
अडिईरहन्छ कि ढलमलाउँछ
होला
तिम्रो बिस्वासको पर्खाल ?
मातृत्वको असिम अनुरागले
तिमी
धर्तीलाई प्रेम गर्छौ भनेपनि
भइरहनेछन् खरीद बिक्रीका
सम्झौताहरु धर्तीमै
बिभाजन हुनेछ आफ्नै माटोको
जीउ कित्ताहरुमा
र खरीद बिक्री हुनेछ जमिन
बजारमा
अनि बेचिएको धर्तिले तिम्रो
प्रेमको हक
राख्छ कि राख्दैन होला ?
——- फर्सु पौडेल —–




