
अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाः- फुलेको दाह्री, धुम्रिएको कपाल अनि पावर भएको चस्माले अब उमेर बिस्तारै बुढ्यौली लाग्दै गरेको भन्ने संकेत शरिरले दिईरहे छ। प्रदेशको कामको चाप, खानपान, निद्रा आदि इत्यादि कुराले गाला चाउँरी पर्दै गएका छन्। चार तले भवनको दोस्रो तलामा सानो कोठा छ। बैदेशिक रोजगारीमा आएका हामी चार जना नेपाली सँगै बस्छौं। कोठाको दुबै कुनामा दुईतले खाट छन् दुईतले खाटको माथिलो तलामा बसेर म मेरो जिन्दगीका तानाबाना बुन्दै जीवनको अमुल्य समय बिताइरहेको छु।
साप्ताहिक बिदाको दिन परेको हुनाले मोबाइलमा गीत घन्काउँदै आफ्नै सुरमा कोठामा लुरिखुरि गर्दै मेरा भन्ने समानको व्यबस्थापन गरिरहेको छु।जब फोनको घण्टी बज्यो म हतपत कस्ले फोन गर्यो भन्ने कौतुहल्ताका साथ फोन हेर्दै छु। फोन, घरबाट बुवाले गर्नु भएको रहेछ। औपचारिक कुराकानी सकिएपछि ठट्यौली बोलिमा हल्का हाँस्दै बुवाले भन्नुभयो, अहिले तेरो उमेर जति भएको छ त्यति उमेर मेरो हुदा मैले तँलाई जन्माएको थिए। “अब त बिहे गर्ने उमेर भयो बाबु, घर आएर बिहे गर्ने होला नि ! अझै पनि उजेलीको यादमै बसेको छस् कि क्याहो ?” म केही नबोली चुपचाप फोन काट्छु। न त बिजुली बत्ती गएको थियो, न ऐना टुटेको थियो, तर पनि आँखामा चारैतिर उजेली नै उजेली देखिन थालिन्। म भावनाको गहिराइमा चुरलुम्मै डुब्न पुगेछु। मेरो आँखा तिरमिर-तिरमिर भए, रिङ्गटा लागेर ज्युभारी हुदै गएको महसुस भयो।
उजेली एक स्त्रीको नाम मात्र होइन मेरो मनभित्रको अध्यारो कोठामा उज्यालो दियो बनेर बसेकी थिइन्। कसैलाई मनै देखि दिएको थोरै समय पनि अनुराग प्यारमा बितेको हो भने त्यो जीवनभरकै सम्झना बन्छ भन्छन् नि! हो त्यस्तै उजेली पनि मेरो जीवनमा प्रीतिको प्रारम्भिक भाव थिइन्। जीवनको ठुलो अंश बनिसकेकी, उजेली कहिल्यै टुट्न नसक्ने सम्झना पनि हुन्।
आज अचानक बुवाको मुखबाट उनको नाम सुन्न पाउँदा मेरो मनमा खुसीका बाहरले यसरि छलाङ हान्न थाले कि मेरो शरिर निसतेज गरि मनलाई प्यारको आलोकतामा पुर्यायो।खाटको छेउमै राखिएको प्लास्टिकको बोतलबाट चिसो पानी पिएँ। मन अलिक शितल सँग शान्त भयो।
सन २०१९ मा आएको कोभिड महामारीले संसारभरि ठूलो जनधनको क्षति पुर्याएको थियो।जनमानसमा कोलाहाल नै मच्चायो। सोहि समयमा साउदीको एक प्रतिष्ठित पान्डा कम्पनीमा कार्यरत म घर जाने तयारीमा थिएँ। महामारीले गर्दा बिदा रोकियो। विश्वभरि लकडाउन, आर्थिक मन्दी, अस्थिरता फैलिएको थियो। जसको प्रत्यक्ष असर हामी जस्ता बैदेशिक रोजगारीमा रहेका सबै नेपालीमा मात्रै नभएर विश्वभरका सबै मानिसमा परेको थियो। घर फर्कनका लागि बिदा र टिकट सबै मिलाएर बसेको म कोभिडले सृजना गरेको परिस्थितिले जन्मभुमि जान अझै २ बर्ष पछाडी सारियो। अन्ततः २०२१ मा फेरि घर जाने तयारी सुरु गरें। घरका सबै परिवार लगाएत आफन्तलाई सम्झिँदै पोको पन्तुरो पारेर झोलामा कोच्दै झोला सुरक्षार्थ डोरीले बाँधें। घर जाने दिन नजिकिदै जादा मनमा उत्साहका साथ फोन र कुरा कानि बाक्लिदै छ। फोनमा कुरा गर्दै गर्दा सधैंझैं बिहेको कुरा आयो। आमाले भन्नुभयो “अब त घर आएपछि बुहारी भित्र्याउनु पर्छ।” म मुस्कुराएँ, अलिकति लजाएँ, शब्दमा मौन रहेरै अनुहारको भावबाट सहमति जनाएँ। समय न हो पर्खनेलाई पो हतारो त !
तीन वर्षको लामो विदेश बसाइपछि घर फर्किने यात्रा सुरु भयो। कोठाबाटै ट्याक्सीमा चढें, विमान स्थल हुँदै काठमाडौं आइपुगेँ। प्रदेशको ३ वर्षे बसाइ पछि काठमाडौंको धुलो-धुवाँ र भीडभाड पार गर्दै घर फर्कने बाटोमा थिएँ। खासै परिवर्तन त केही देखिएन। काठमाडौंबाट बस चढी म आफ्नै जन्मथलो भएको ठाउँ नजिकिदै थिएँ। बसको पछाडिको सिटमा ‘घङ्द्रयाङ-घुङ्दुरुङ्ग उफ्रदै करिब १२ घण्टा लामो बस यात्राबाट म जिल्ला सदरमुकाम सन्धिखर्क आइपुगे।अव सुरु हुदै छ। महिन्द्रा जीप र कच्ची बाटोको यात्रा गाउँको बिचैबिच हुदै जाने बाटोलाई पनि पछाडि पारेर जाने यो महिन्द्र जिप रोकिने दोबाटोमा रोकिन्छ।हो यहाँ सम्म मलाई लिन मेरो बा-आमा आउनु भएको थियो।
गाडीको मैलो सिसा छिचोलेर मेरा बा-आमाको खुसी र ह्रसको चम्किलो अनुहार हेर्दै जीपबाट ओरलिनसाथ बा-आमालाई प्रणाम गरेँ। त्यसपछि करिब १० मिनेट पैदल हिडे पछि हामी घरको आगन मै पुग्यौँ। मेरो आगमनको खबर थाहाँ पाएर गाउँघरका छिमेकीहरू हाम्रो घरमा भेला भइसकेका थिए। सबैसँग साइनो अनुसार ढोग नमस्कार गर्दै कोसेली स्वरूप ल्याएका खजुरका पोका आमाको हातमा दिए आमाले मुख मिठो गराउँन सबैलाई दिनुभयो।
एक दुई दिन आफन्त, साथीभाई, ईष्टमित्र सँग भेटघाट मै बित्यो। त्यसपछि सुरु भयो —बिहेका लागि केटी खोज्ने प्रकृया। केटी देखाउँन लमिका लागि मामा र केहि आफन्त तयार हुनु भयो। धेरैको घरमा पुगियो, धेरै केटीहरू भेटियो कतै चिया त कतै चिया सँगै खाजा पनि खाईयो। तर जवाना अनुसार लव नगरी बिहे गर्नु साह्रै गाह्रो रहेछ। कसैले मलाई मन पराएनन्, त कसैलाई मैले मन पराएन्। कति ठाउँ त बिहेका लागि राखिएका सर्त सुनेपछि मुन्टो हल्लाउँदै लमि सँग साङ्केतिक कुरा गरेरै फर्कियो।यसै गरि धेरै दिन बितिसकेका थिए।
शनिबारको दिन थियो। खाना खाईसके पछि गाई गोठाला सँगै म पनि खोलामा पौडी खेल्न जाने फर्कि आउँदा घाँस ल्याउने भनि बुवाआमासँग अनुमति लिएर म घरबाट निस्किए। दिनभर खोलाको चिसो पानीमा पौडी खेली खोलाकै छेउँछाउँ एक मुठो खास तयार पारि घर फर्किन् उकालो लागे। प्रदेशमा बसेर अलि मोटाएको थिएँ, उकालो चढ्न गाह्रो भइरहेको थियो। उकालो बाटोमा पर्ने चौपारीमा बसेर एकै छिन् सुस्ताउँदै दुबै कानमा इयरफोन लगाएर मस्त गीत सुन्दै बसेको थिए।
गोधूली साँझको उपस्थिति बढ्दो थियो। म संगीतमै रमाइरहेको थिएँ। अचानक पछाडिबाट आएको आवाजले म झसङ्ग भएँ। कानबाट इयरफोन निकालेर पछाडि फर्किएँर गोधुली साँझको मधुर उज्यालोमा एउटा सुन्दर अनुहार शिर देखि पाउ सम्म रातो पहिरनमा चिटिक्क मिलेको जीउडाल देखे पछि एकछिन त लाग्यो स्वर्गबाट अप्सरा आई मेरो सामु उभिएकी हुन् कि! यति सुन्दर स्त्री मैले सायद सिनेमा मा मात्र देखेको थिएँ। हल्का चिने-चिने जस्तो लाग्यो। पहिले म नै बोले तिमी पारी गाउँ काजी बाको नातिनी होइन् र ? तिमीहरूका बाले त धेरैलाई दुःख दिनु भयो। खै! तिमिहरुको कस्तो खान्दानी पेशा हो? यति मात्रै के भनेको थिए उ त “केही नबोली फनक्क फर्कि” मलाई हो कि मेरो बोलिलाई तिरस्कार गरेको मैले केहि सोच्नै सकेको थिएन। फेरी पनि म नै बोलिहाले “ए उजेली… सुन् न !” तर उ त कालो बादल जस्तो घना कपाल हल्लाउँदै कमर लच्काउँदै म बाट टाढा-टाढा हुदै थिई। एकछिन त लाग्यो स्वयम् कामदेवले रतिलाई मेरो परीक्षा लिन मेरो सामु पठाएको हो कि ! क्या हो ? अप्सरा देखेर ऋषिमुनिको ध्यान भंग हुन्छ भन्थे साच्चिकै रहिछ कि क्या हो ? म फेरि उसको नाम लिएर चिच्याएँ —”छायाँ! ए छायाँ!” उ एकछिन रोकिएर मलाई एक टकले हेरिरहेकी थिई।
पछाडिबाट आवाज आयो “ए मनोज! कस्लाई बोलाएको ? किन एक्लै चिच्याएको ?” म फर्केर हेर्दा छायाँ (उजेली) त्यहाँ थिईन। त्यहाँ त गोठाला दाईहरु थिए। म चौपारीबाट जुरुक्क उठेर घाँसको भारी बोकेँ गोठाला सँगै सरासर घरतिर लागेँ। घर पुगेर हात खुट्टा धोएँ, खाना खाएँ र बिस्तारामा पल्टिएँ तर मन उजेलीमै थियो। उजेली जसको वास्तविक नाम ‘छायाँ’ हो।
हाम्रो गाउँको छेउँमा जङ्गल छ जङ्गलको पल्लो पट्टी अर्को गाउँ पर्छ। हो त्यहि गाउँमा काजीको घर छ। उनका दुई छोराहरू युरोपमा छन् भने छोरीको शहरमा बिहे भएको थियो। उजेली उनै छोरीकी छोरी हुन्। उनको नाम ‘छायाँ’ भए पनि गोरी वर्णकी भएकाले सबैले उनलाई ‘उजेली’ भन्थे। हाम्रो गाउँमा स्कुल नभएकाले म पढ्न पारी गाउँ जान्थेँ। पाँच/छ कक्षा सम्म उनी मामाघर बसेरै पढेकि थिइन्। गुलाबी रङको जामा लगाएर दुई चुल्ठी बाटेर स्कुल आउँदा उनी ठ्याक्कै गुडिया जस्तै देखिन्थिन्। विद्यालयमा देखेको त्यो अनुहार धेरै वर्षपछि आकस्मिक रूपमा जमका भेट भएको थियो। उनी झन् सुन्दर भएकी रहिछिन्। उनलाई सम्झेर त्यो रात म धेरै अवेर सम्म निदाउँन सकिनँ।
अर्को दिन सवेरै उठे चिया खाजा खाएँ र फेरि उजेलीको एक झलक पाउने आशामा पारी गाउँतिर लागेँ। तर काजी बाको घर जाने हिम्मत थिएन त्यसैले स्कुल वरिपरि डुलिरहेँ। उनको दर्शन पाउँन सकिएन। दिनहरू यसै गरी बित्दै गए। म उनलाई सम्झिरहे छाती पोलिरह्यो। मेरो मनमा बसेकी उजेली मामाघर कति दिन बस्न सकुन् कतै ! आफ्नो बुवाआमाको घर फर्कि सकिन् कि?
गाउँमा कोहि साथीभाइ थिएनन् कोही सहरमा जागिरे थिए त कोही बैदेशिक रोजगारीमा थिए। मनको बह पोख्ने कोही नभएपछि गाउँ साँच्चै शून्य लाग्थ्यो। धेरै दिनपछि सदरमुकाम बाट पारी गाउँको बाटो हुँदै फर्किँदै थिएँ। साँझ परिसकेको थियो। फेरि त्यही चौपारीमा पुगि एकै छिन् सुस्ताउन टुसुक्क चौपारीमा के बसेको थिए धुरु धुरु रुदै गरेकी उजेलीलाई देखे म उनको छेउमा पुगि “ए…उजेली ! किन रोएको ?” मेरो आवाज सुनेर ऊ जुरुक्क उठेर जान थाली। मैले बाटो छेक्दै म उबाट परिचित हुन् बाल्यकालको बिद्यालयमा भएका हामि बिचको सम्बन्ध सम्झाउँदै भन्न थाले “सानो हुँदा तिमीले शहरबाट ल्याएर दिएको मिठाई सम्झना छ? तिमीले एकपटक तिम्रो जन्मदिनमा स्कुलमा मिठाइ बाँडेकी थियौँ नि ! सोहि बेला मेरो लागि भनेर तिमिले छुट्टै के दिएकी थियौ? याद गर न ! हो म त्यही मनोज हो।उनले मलाई चिनिन् या चिनिन्न खै ! तर मुन्टो हल्लाइन् र फेरि जान खोजिन्। मैले अघिल्लो भेटमा देखाएको कठोर व्यवहारको लागि माफी माग्दै अर्को भेटका लागि प्रस्ताव राखेँ। उनले भोलि साँझ सोहि चौपारीमा भेट्ने वाचा गरिन। म खुसीले गदगद भइ “बाइ” भन्दै घरतिर लागेँ।
अब मलाई अर्को दिन साँझको प्रतिक्षा थियो। खाना खाइ बिस्तारामा पल्टिए पनि रातभर निद्रा लागेन्। अर्को दिन दिउँसो दाह्री, कपाल मिलाई नयाँ लुगा लगाएर गोठाला घर फर्कने समयमा म भने चौपारी तिर लागेँ।उजेलीको पर्खाइमा चौपारीमा बस्दै समय बिताउन एफ.एम. सुन्दै निकै समय सम्म कुरे तर उनी आइन्न। म त घरबाट “पल्लो गाउँ जान्छु” भनि आएको थिएँ।उनकै पर्तिक्षामा साँझ झमक्क परिसक्दा पनि नआएपछि फर्कने सुर कसेर चौपारिबाट जव म जुरुक्क उठे पछाडिबाट चुराको छिन् छिन् आवाजले म रोकिएँ। फर्किएर हेर्दा उनै उजेली त्यहाँ आएकी थिइन्,
पुर्णिमाको जुन जस्तो उज्यालो चमक बोकेर आएकी उनी भनिन् चुलोचौको सकेर आउँदा ढिला भयो,” । त्यो रातको अध्यारोमा शितल हावा चलिरहेको थियो।हावाको झोकाले उजेलीको सुगन्ध निस्पट्ट अध्यारो जङ्गलभरि फैलाएको थियो। अध्यारो रातको सुनसान चौपारीमा बसेर हामि बालापन देखि पौण अवस्था सम्मको यात्रा कुराकानि बाटै सकायौँ।समय कहाँ स्थिर हुदो रहेछ र रात ढलिसके पोछि भोली र भोलिको पनि भोलि यहि ठाउँमा भेटने वाचा गर्दै भाले बास्ने समयको नजिक हामि चौपारीबाट छुट्टियौँ।
त्यसपछि हामी लगभग प्रत्येक साँझ चौपारीमा भेटदै एक अर्कामा रङ्गिन थाल्यौं। कुराकानीकै क्रममा मैले उनलाई मामा घर किन? बसिरहेकी भनेर सोधेँ। उनले हाँस्दै भनिन्, “हजुरको प्रतिक्षा गर्न। तर मैले अलि जिद्दी गरेपछि बताइन् बुबा-आमा विदेश गएको हुनाले शहरमा एक्लै बस्न मन लागेन् उनले भनिन् त्यो रात उनले मेरो काँधमा उनको शिर राखेर धेरै रोइन्।
उनी र म बीच धेरै प्रेमका कुराकानी हुन्थे। उनी भन्थिन्, “यो सुन्दर शरीर बिना प्रेम सम्भव छैन। के प्रेम आत्माको स्वरूप होइन र ? म जवाफ दिन्थेँ “प्रेम आत्माको स्वरूप भए पनि व्यक्त गर्न शरीर चाहिन्छ।”जसरी कसैले टाढाबाट बोलेको आवाज रेडियो बिना सुन्न मिल्दैन।“ मेरो जवाफ सुनेर उनले मलाई अँगालोमा बेरी राख्थिन्। तर जति नै लुकाए पनि प्रेम धेरै दिन लुक्न सकेन्। गाउँमा हाम्रो बारेमा कुरा फैलन थाल्यो। उजेलीले पनि अब हामी एक हुनुपर्छ भनेर जोड दिइन्। म भने बा-आमालाई सम्झाउनुपर्छ भन्थेँ। तर त्यो सुनेर उनी रिसाउँथिन्।
भेटघाँट रातिमा हुने भए पनि कुनै जङ्गली जनावरको डर लाग्दैनथ्यो तर डर काजी बाको थियो।काजिले हाम्रो बारेमा थाहाँ पाए मलाई मात्र नभइ हाम्रो परिवारलाई नै गाउँ उठीबास लगाउँन सक्थे। म राति सबै सुतिसकेपछि घरबाट निस्कन्थे।अनिद्राले दुब्लाउँदै गएको थिएँ। घरमा सबैले किन बिमार पर्यो भन्न थालेका थिए। गाउँलेहरु मनोजलाई के ले छल्यो ? रात परेपछि जङ्गल तिर जान्छ। धामी झाक्री गर्नु पर्छ भन्दै थिए। यी सबै कुरा मेरो घरसम्म आइपुग्यो। बुवा आमाले के भयो किन जङ्गल गएको भनि निकै सोधि खोजि गरेपोछि मैले मेरो प्रेमको बारेमा भन्नै पर्ने अवस्था आयो। काजि बा को नातिनी उजेली र म एक अर्कालाई माया गर्ने कुरा मैले स-बिस्तार सुनाएँ। मेरो कुरा सुनेर बुवा आमा छक्क पर्नुभयो। तत्कालै सारा गाउँलेलाई र काजी बालाई त्यहाँ बोलाइयो काजी सेतो घोडा चढि हाम्रो घर सम्मा आइपुगेका थिए। सबै कुरा विस्तारसँग मलाई गर्न लगाइयो।
मैले अचम्म मान्दै थिए जुन काजी गाउँमा हैकम चलाउँथे कसैको कुरामा टसकोमस नहुने काजी सारा गाउँले सँगै हाम्रो घरमा आएका थिए। त्यो दिन हाम्रो घरमा भिड नै जम्मा भएको थियो। त्यो भिडले मलाई निकै केरकार गर्यो। मेरो र उजेलीको प्रेमकहाँनि सुनेर सबैको अनुहारमा एक किसिमको गम्भिरता देखिएको थियो।
घरमा जम्मा भएको भिडले मलाई पत्याउनै नसक्ने कुराको जानकारी दिएको थियो। जुन कुरा मैले बिश्वास गर्नै नसक्ने थियो। गाउँलेको कुराले एका एक मेरो आँखा अगाडि अन्धकार छाइरहेको थियो। धर्ति फाटे झैँ आकास खसेझै हुदा म निशब्द थिए। उजेलीलाई भेटेर अङ्गालोमा कसेर उ भित्र हराउन चाहेको थिए। तर मलाई त्यो भिडले त्यस्तो खबर सुनाएको थियो। उजेली जो सँग म अन्तर आत्मा देखि प्रेम गर्थे उनै उजेली कोभिडकालमा त्यहाँ आएकी थिइन् र उनी कोभिड कै कारण यो संसारबाट बिदा भएकी रहिछन्। त्यही चौपारिको छेउँमा अन्त्येष्टि गरिएको रहेछ। पिडामा निसासिदै गर्दा म आलारामको घण्टिले सपनाबाट ब्यूँझन्छु। बिहानको ७ बजी सकेको रहेछ। सधै जसो हत्तपत्त काम गर्दा लगाउने पोसाक लगाएर पानी पिउँदै सोचे ओ हो! कस्तो सपना देखेछु? प्रदेशिएको पनि एक दशक भए छ। अँ साँच्चै प्रेम मनको भावना हो कि मोह ? कतै प्रेम भ्रम र छल त होइन ?
ः-यो कथा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका उपाध्यक्ष श्री मनोज पौडेलले लेखनु भएको हो।




