घर छाडेकाहरु भावना बोकेर जिन्दगी कमाउछन् कि बिताउछन् ?

अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाः

मझेरोको माँझमा अगेनो छ । अगेनोमा ओदान छ । ओदान माथि पितलको कुँडे बसालिएको छ । कुँडेको बाहिर भाग र पिँध कालो छ तर कुँडेमा सेतो दुध झन्डै भरिभराउ छ । आमा अगेनोको छेवैमा बसि काठको डाडुले दुध चलाईरहनु भएको छ । मझेरिको उच्च भागमा मुल चौको छ। त्यहाँ बुवा अडेस लागेर बस्नुभएको छ । बुवाको खुट्टामा बा-आमाको नाति (मेरो छोरा) बसेको छ । बुवाले ‘घाँकुति हुँई’ भन्दै नातिलाई खुट्टामा राखि पिङ खेलाउदा, भर्खर २ बर्ष पुग्नै लागेको हाम्रो घरको कान्छो मान्छे खित्का छाडेर हाँसिरहेको छ । ऊ अपेक्षित पनि छ कि ! बाले उसलाई त्यसैगरि पिङ खेलाई रहनुहोस् । टाउकोमा सेतो मखमलको पछ्यौरा बाँधी, खैरो बलाङ्केटले गोडा छोपेर, ९४ बर्षिया हजुर-आमै पल्लो पट्टी सानो चौकामा बस्नु भएको छ । बालककी आमा भर्याङ्मुनि बसेर नाङ्लोमा तरकारी केलाउदै छिन् । अगेनोको छेउमा ढकिया छ ढकियामा भुटेका मकै भट्ट राखिएको छ । त्यसमा हामी दाजुबहिनीको हात ठोकिरहेको छ । आमाले बुहारीलाई अहर्याउदै भन्नु भयो ‘दिउँसो बाबुछोरा गहुँमा पानी चार्न खेतमा जाने कुरा छ खाजाको लागि अलिकति बोडी र गहत भिजाऊ ।’ त्यसपछि यमुनाले तमौरा (तामाको कचौरा) लिएर आँटीमा जानका लागि भर्याङ् चढ्दै छिन् । भर्याङ् चढ्दा पदचापबाट आउने आवाज भन्दा बेग्लै आवाज मेरो कानमा परेको छ – ढक-ढक्-ढक् । तव मैले आँखा खोलि हेर्न खोज्दा मलाई थाहा भयो कि म त ओछ्यानमा सिरकमा गुटुमुटु परि गहिरो निद्रामा रहेछु ।

सिरक उघारेर हेर्दा, झ्यालमा टाँगिएको पर्दा छिचोलेर घामको किरण कोठाभित्रै छिरेको रहेछ । जब मैले आँखा घुमाएर कोठाको ढोकातिर पुर्याए कोठाको ढोकामा कृष्णलाई देखे उनको अनुहार पानीले भिजेको थियो । मौनता तोडिनु अगाडिनै मैले देखेँ कृष्णको अनुहारबाट केहि थोपा पानी कोठाको सँघारमा चुहिरहेको छ । उनले भने डिउटी जाने होइन् ? ढिला भै सक्यो ७:५० भैसकेछ ।

म हतपत बिस्तराबाट उठेर बनियानमै वाथरुम पुगि एक हातले मुख भिजाएर बिहानको नित्यकर्म सकाएँ । झटफट कम्पनिका पोसाक लगाई डिउटी जान खिसुक्सा (कम्पनिका कामदार बसने घर) तिन तलामाथि देखि भर्याङ्गबाट तल ओर्लदै छु । कम्पनिको प्रवेशद्वार अगाडि सुकिला कपडा लगाएको कम्पनिका प्रबन्धक चुरोटको धुवाँ उढाउदै गरेको दृश्य हेर्दै जब म भुइँतलाको गेटबाट बाहिर निस्कन्छु र प्रबन्धकसँग भेट गर्छु। हामिबिच 안녕하세요(नमस्ते)को अभिवादनसँगै दिनको सुरुवात हुन्छ ।

कम्पनि भित्र जाँदै गरेको म एक पाईला कम्पनिको मुख्य ढोका भित्र राख्दा भण्डारी भन्ने आवाजले म ढोकामै फरक्क फर्किए । प्रबन्धकले नजिकै आएर भने चिसो मौसमले गर्दा हाइड्रोलिक मेसिन चलाउन कठिन छ । १७ नं. मेसिन बिहान छिट्टै स्टाट गरेर छाडनुपर्छ । हुन्छको भावमा शिर झुकाए आज्ञा पालन गर्ने भाव देखाउदै कम्पनि भित्र पसे। मैले दैनिक काम गर्दा सञ्चालन गर्ने मेसिनहरु क्रमशः १२,१३,१४ र १५ अन गरि १७ नं. मेसिन अन गर्न मेसिन नजिक पुगेको थिए तव हामि भन्दा २ बर्ष अगाडि यसै कम्पनिमा आएका भियतनामी नागरिक मेरा सहकर्मी हुसेनसँग भेट हुन्छ । हुसेनले सोधे ‘बिहान तताएर राखिदिएको दुध खाएर आयौँ?’ ढिला उठेको कारण दुध नखाएको भनि जवाफ दिएँ । उनैले भने ‘बिहान उठाउँदा उठेनौ तिमि, हिजो जस्तै बिहानको दुध साँझ दहि भएपछि खाने होला नि!’ भन्दै आफ्नो काममा लागेँ ।

मैले मेसिनका बटनहरु थिच्दै जादा मेसिनभित्रका पाटपुर्जामा हलचल पैदा भै आफ्नै गतिमा चाल समाउँदै एक विशेस किसिमको सङ्गीत गुञ्जाउन थाले । हो त्यो सङ्गीत म बिगत ८ बर्ष देखि सुन्दै आएको छु । त्यो सङ्गीतले कुनै खास उत्साह, उमङ्ग, कुनैं भावना ब्यक्त गर्न नसक्ने त्यो सङ्गीत मेरो दैनिकीको अवयव भैसकेको छ। घडिमा बिहानको ९ बजेको थियो । मेरो मुख सुकेर आयो । गलाले तिर्खा महसुस गरायो । जब म पानी पिउन जादै थिएँ मलाई एक्कासि बिहानको सपनाको यादले घर सम्झन पुगेँ । मैले खल्तिको मोबाइल निकालेर यमुनालाई म्यासेज लेखेँ ‘घर तिर सबैलाई सन्चै छ ?’ उताबाट रिप्लाइमा ‘हामि आमा छोरा ठिक छौँ, उठेका छैनौँ ।’ भन्ने जवाफ आयो ।

बेमिजासको अहृदयी अप्रवीणता मेसिनको सङ्गीतको माँझ मनमा बिहानीपख देखेको सपनाका कुरा खेलाउँदै। समय बितेको पत्तै भएन दिउँसोको १२ बजि सकेछ । काम गरिरहेका सबै जना दिउँसोको खाना खाने तयारीमा हातमुख धुँदै थिए । म पनि त्यसै गरेँ । देश, परिवेश, धर्म, संस्कारको भिन्नता फरक किसिमका मर-मसला आदि इत्यादिको कारणले नेपाली खाना र कोरियाली खानामा भिन्नता हुने हुनाले मलाई नेपाली खाना जसरी कोरियन खाना रुचेको छैन् ।

नेपाली खाना र घरको यादमा म घर परिवारको म्यासेन्जर ग्रुप भिडियो कल लगाएँ । फोन आमाले उठाउँदै भिडियो कलको ब्याक क्यामराबाट पिढिँमा बाख्राको पाठापाठीसँगै खेलदै गरेको घरको कान्छो मान्छेलाई देखाउदै सबै ठिकठाक भएको र ससुरा बुहारी (मेरो बुवा र श्रीमती) घाँस काट्न गएको र आइपुग्ने समय भएको भन्दै जानकारी दिनुभयो । यतिकैमा बुवा र यमुना हरिया घाँसका भारी लिएर घरको आँगनमै आइपुगे ।

आँगनको डिलमा भएको पर्खालको छेवैमा घाँसको भारि बिसाएर बुवा आँगनकै डिलमा भएको पर्खालमा टुसुक्क बस्नु भएको थियो । बुवाले लगाएको आसकोटका खल्ती छाम् छुम गर्न घरको कान्छो मान्छे पुगिसकेको छ। बुवाले बुहारीलाई खन्युका दाना दिदै भन्नु भयो धोएर देउ माटो लागेको छ। यतिकैमा हजुरआमा पनि त्यहाँ आइपुग्नु भयो र भन्नु भयो ‘खै ! मलाई पनि १/२ दाना ले, नानि मलाई कोमलो ले है टोक्न सक्दिन म’ । यमुनाले खन्युका दाना धोइ घरको सबैभन्दा जेठो मान्छे बुढिसासु र घरकै सबैभन्दा कान्छो मान्छे छोरोलाई दिएको दृस्य मैले भिडियो कलमा हेरिरहेको छु ।

बुवासँगको समान्य कुराकानिपछि मैले बुवालाई सोधे ‘बुवा नातिलाई जसरी कहीँ कतैबाट आउदा केहि लिएर आउनु हुन्छ नि! के म सानो हुदा मेरो लागि पनि त्यसै गरि केहि न केहि लिएर घर आउनुहुन्थ्यो ?’ बुवाले भन्नुभयो ‘तँलाई के लाग्छ ?’ उहाँको प्रति प्रश्नमा मैले पुनः अर्को प्रश्न सोधेँ ‘मलाई सानोमा यसैगरि केहि ल्याएर दिनु र नातिलाई केहि लिएर दिनुमा के फरक हुँदो रहेछ बुवा?’ बुवाले केहि समय रोकिएर भन्नु भो ‘तँलाई सधैँ आसकोट दायाँ खल्तिमा राखेर ल्याएको कुरा दायाँ हातले दिने गरेको थिएँ भने नातिको लागि केहि लिएर आउँदा आस्कोटको बायाँ खल्तीमा राखेर ल्याउने गरेको छु र बायाँ हातले नै दिने गरेको छु ।’

घडिले दिउँसोको १ बजाई सकेको थियो । डिउटि सुरुहुने समय भयो । साँझ कुरा गरौला भन्दै फोन राखि डिउटि तिर हिडेँ ।

मेसिनसँगै जुहारि खेल्दै गर्दा मेरो मनमा खै ! के-के कुरा मनमा घुमिरह्यो । बुवाले भनेको कुरा, बिहानको सपनाको कुरा, छोरासँगै खेल्न नपाएको कुरा र भविश्यको चिन्ता मनमा खेलिरह्यो । आर्थिक समृद्धि र सवल भविश्यको खोजिमा प्रदेश आएर मनमाफिक धन कमाए पनि खै ! के के गुमाउन पुगेछु । बुवाले छोरा छोरी र नाति हुर्काउनु भयो । मैले छोरा हुर्काउने अवसर त गुमाए के मैले आफैले नाति हुर्काउने अवसर पाउँला त ? यस्तै-यस्तै सोच्दासोच्दै भावनात्मक गाम्भीर्यमा निकै समय भुलिरहे छु । यो मन पनि कस्तो हुन्छ ? कहाँ-कहाँ पुर्याउन सक्छ ? साच्चै यो मन कस्तो छ ? कति ठाउँ ओगटेको छ ? यो मनको पछि-पछि हिड्न पनि नसकिदो रैछ है !

घडिले समय बिताएको पत्तै भएनछ । साँझको ८ पो बजि सकेकोरहेछ । डिउटी समय सकिन केहि समय मात्रै बाकि थियो । बिहान अन गरेको सबै मेसिनहरु क्रमैसँग बन्द गर्न लागेँ ।

दिनभरिको थकान मेटाउनलाई म सरासर कोठामै आएँ र घरमा फोन लगाएँ । बिहान जसै गरि फोन आमाले उठाउनु भयो । पिढिमा बसेर घामको न्यानो तापिरहेकि हजुरआमालाई फोन दिदै भन्नु भो “नारनको फोन आएको छ । कुरा गर्नुहोस् हजुर-आमाले फोन लिन साथै भन्नुभयो घर कहिले आउँछस् ?” मैले समय तोकेरै यहि महिना यतिबेलै आउछुभन्न सकेको छैन् । सजिलो उत्तर अर्को बर्ष आउछु भनेँ । हजुरआमाले भन्नु भो ‘मलाई एउटा सुइटर कहिले पठाइदिन्छस्? खै ! यो वर्षको जाडोयाम पनि सकिनै लाग्यो सुइटर अझै आयन ।’
‘तल्लाघरे शुसिल आउदै छ । उसैसँग सुइटर र हजुरलाई मनपर्ने सुइरा मिठाइ (पेपेरो) पठाएको छु ।’
‘बिदेश गएको पनि २ बर्ष हुन लाग्यो तँ कहिले आउछस्? तँ आउदा सम्म त म बाच्दिन होला’ भन्दै हजुर-आमाले बुहारी (मेरी आमा)को हातमा फोन राखिदिनुभो ।

घरको कान्छो मान्छे । आँगनको डिलमा उभिएर उसकै साईजको सानो गोठालो जाने लौरी हातमा राखि घरि हऽवा घरि बाऽ भन्दै चिच्चाउदै छ । आमाले मोबाइलको क्यामेरा पछाडि फर्काउदै देखाउदै भन्नु भो ‘चरनमा गएका गाई बाख्रा आएको कति चाडैँ थाहा पाउँछ यस्ले ।’ जसरी बाख्राका पाठापाठी गाई बाख्रा आएको थाहाँपाउदा परै तघाँरो सम्म पुगेका छन् हाम्रो घरको कान्छो मान्छे पनि उतै जादै छ । नातिकै पछि पछि लागेकी आमा पनि नातिलाई पच्छाउदै हुनुहुन्छ । जब नाति बाजेको भेट भयो तव आमा घर तर्फ फर्कनु भयो । यो सबै दृश्य मैले भिडियो कलमा हेरिरहेको छु ।

एकहातले मोबाइल समाएका बुवाले अर्को हातले नातिलाई काखमा राखि ‘तेरो बाउलाई ढोग गर्’ भन्दै सिकाउनु भएको छ । तर नातिको ध्यान जति सबै बाको आस्कोटको खल्तीमा छ । बाको खल्तीमा भएका पानी अमलाका दाना निकाली हातमा राखेको छ । बाले भन्नु भो ‘यो माटो लागेको छ । धोइऽधोइऽ गरेर खानुपर्छ है । लेऊ मलाई म धोइऽधोइऽ गरेर दिन्छु’ भन्दै नातिको हातबाट पानी अमलाका केहि दान लिएर बुवा आँगनको डिलमा रहेको धारोमा धोइ नातिको हातमा राखिदिनुभो । पानीअमला मुखमा राखि एक कुट्का के टोकेको थियो । उसको अनुहारमा आएको परिवर्तनले पानीअमलाको स्वाद मन नपरेको कुरा स्पष्ट झल्किएको छ ।
मैले फोनबाटै मलाई लेऊ भन्दा उसले मलाई दिनका लागि हात अगाडिबढाएको छ । बुवाले भन्नु भो ‘यसलाई मनपर्ने कुरा दिदैन त्यो मन नपरेर दिएको हो ।’

पिढिमा मकैको पिठो राखिएको पुरानो ढकिया छ । ढकियामा भएको मकैको पिठो खानलाई गोठबाट बाख्राका पाठा-पाठी आँगनमै आइपुगेको छन् । हाम्रो घरको कान्छो मान्छेलाई त्यो पानीअमलामा भन्दा आँगनमा आएको बाख्राका पाठा-पाठीमा बढि ध्यान गएको छ । हातमा सानो लैरो अघि देखि छाडेको छैन । त्यहि लौरोको साहयताले बाख्राको पाठा-पाठीलाई धपाउन तिनीहररूका पछि-पछि हिड्दै यताउता खेदिरहेको छ । भेटन सक्यो भने एक चोट पिटी हाल्छ । पिठो खाने लोभले आँगनमा आएको पाठा-पाठी सानो मान्छेको हातमा भएको लौरोको चोट खाइरहेको छन् । बुवाले ‘पाठा-पाठीलाई नपिट रुन्छन् यता आऊ’ भन्दै नातिलाई बोलाउँदा पनि नसुने झैँ गरि ऊ पाठापाठीकै पछाडि लागिरहेको छ । ‘डिउटीबाट आएपछि हात गोडा धोएको छैन । खाना बनाउन पनि बाकीँ नै छ ।’ भन्दै मैले फोन राख्छु भनेँ ।

साँझको खाना खाइवरि कोठामा आइपुग्दा रातिको १० बजिसकेको छ । ओछ्यानमा पल्टिएर सामाजिक सञ्जाल तिर लागेँ । सामाजिक सञ्जालमा कसैका जन्मदिन, कसैका बैवाहिक बर्षगाँठका दिन, कसैका तिर्थ यात्राका कुरा त कसैले मुक्तक, सायरि र गजल जस्ता साहित्य लेखेका छन् । त्यहाँ समाचारहरू पनि छन्, राजनितिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक बिपत्ति, देश बिदेशका विभिन्न किसिमका सुचना तथा समाचारका पोस्टहरू पनि छन् । म सामाजिक सञ्जालमा झन्डै २ घण्टा भुले छु । घडिले रातिको १२ बजाउनै लागेको थियो । समयले कहाँ पर्खिदो रहेछ!

म्यासेन्जरमा Dear Love बाट भिडियो कल आएको छ । मैले फोन उठाएर हेलो भन्न नपाउँदै उताबाट आवाज आयो । तोते बोलिमा ‘बा-सन्चै बा-सन्चै’ यो आवाजले लाग्नै लागेको निद्रा भगाइदियो । समयको ख्याल पनि खै कता पो गयो । आमा छोरा बेडमा छन् छोराको हातमा हजुरआमाले कपाल कोर्ने बासको काँईयो समाएको छ । मैले ‘किन हजुरआमाको काँईयो लिएर आएको ?’ भनि कुराको सुरुवात गरेँ ।
‘मान्दैमानेन लिएरै आएको छ । यो नसुत्दा सम्म मलाई बोल्नै दिन्न उसैसँग कुरा गर्नुहोस’ भन्दै छोरालाई फोन दिँदै यमुनाले भनिन् ।

छोरो निधाएको जानकारी गराउँदै उनले भनिन् ‘माइत नगएको पनि ४ महिना भयो कहिले जाने होला ? जान मन लागेको छ । फागुनको पहिलो हप्ता देउराली पूजा गर्ने भन्नु भएको छ । म कहिले जानेहोला ?’ भन्दै उनले थपिन ‘खैरी बाख्रालाई सन्चो छैन् । त्यसैलाई ओखतिमुलो खुवाउँदा ढिला भयो नत्र अल्लि छिट्टै कोठामा आएर फोन गर्नेथिएँ ।’
‘बुवाले खै! के के जडिबुटि थिचेर खुवाउनु भयो । बुवाले भन्नु भएको थियो । दिन भरि चरेको पनि छैन् पाउर पानि लागाएको छैन् । भोलि सम्म ठिक भए त हुन्थियो नि! त्यसको पाठो पनि सानै छ ।’

‘त्यहाँ त रात परिसकेहोला है! कति बज्यो? अहिले १ बज्न लागेहोला । आज बिहान कतिबेला उठनुभो ?’ भन्ने उनको प्रश्नको उत्तरमा मैले ‘७ बजेर ५० मिनटमा त्यो पनि साथिले उठाएर भन्ने जवाफ दिएँ ।’
‘ए! त्यसो भए आज दिन भर भोकै हो डिउटी गरेको ? तपाईले त खानानै समयमा खानुहुन्न के । म त्यहाँभएको भए त तपाई बिहान भोकै डिउटि जानु पर्दैन थियो होला । बिहान समयमा उठनलाई साँझ समयमै सुत्नु भए पो हुन्छ । के-के गर्नुहुन्छ कुन्नी ? किन ? राति अवेर सम्म बस्नु परेको होला ! हुन्त मेरै फोन कुरेर बस्नु भएको हो कि !’

‘मलाई पनि साँझ सुत्नु भन्दा अगाडि एकै छिन् कुरा गर्न मन लाग्छ । फेरी छोरो नसुत्दा सम्म यसले बोल्नै दिदैनँ । ढिला भइसक्यो सुत्नुहोस तपाई म पनि अब सुत्छु ।’
‘तपाईँलाई छोरासँग खेल्न मन लाग्दैन ? कहिले कसो त हजुरले फोन राखेपछि छोराले बा भन्दै रुन पो थाल्छ ! फोन आएको थाहा पाए उसैले मात्रै कुरा गर्ने भन्छ । अरुलाई बोल्नै दिदैनँ ।’
‘हुन्छ । आज ढिलो भैसक्यो गुड नाइट सुत्नुहोस् भोलि कुरा गरौँला । भोलि छिटै उठेर खाना खाइ डिउटी जानु है ।’

सि.एन.भण्डारी

लेखक अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका सचिव हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top