
अर्घाखाँची सम्पर्क मञ्चः– नेपाली राजदूतावास दक्षिण कोरियाका श्रम काउन्सेलर चन्द्रकला ओली कार्यकाल समाप्त गरी नेपाल फर्कनु अघि सम्मान तथा बिदाई कार्यक्रम तपसिलको मिति, समय र स्थानमा आयोजना गरिएको छ। नेपाली सम्पर्क समिति दक्षिण कोरिया, आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, सुदूरपश्चिम समाज दक्षिण कोरिया, पूर्वी नेपाल समाज दक्षिण कोरिया, कर्णाली प्रदेश समाज दक्षिण कोरिया, बागमती प्रदेश एकता समाज दक्षिण कोरिया, गण्डकी प्रदेश समाज दक्षिण कोरिया, लुम्बिनी प्रदेश समाज दक्षिण कोरिया र Society of Nepalese Students in South Korea (SONSIK) को संयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना भएको छ।
चन्द्रकला ओली दक्षिण कोरियामा रहेका नेपाली श्रमिकहरूको हकहितका लागि निरन्तर क्रियाशील रहनुभएको छ। उहाँले दक्षिण कोरियामा नेपाली श्रमिकहरूलाई कानुनी सहायता, रोजगारीसम्बन्धी समस्या समाधान तथा श्रमिक अधिकारको प्रत्याभूति गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। विशेष गरी कोरियामा श्रमिक शोषण, कानुनी समस्या तथा दुर्घटनामा परेका नेपाली श्रमिकहरूको पक्षमा काम गर्दै उनीहरूलाई आवश्यक परामर्श तथा सहायता पुर्याउन उहाँले प्रभावकारी कार्य गर्नुभएको छ।
उहाँको कार्यकालमा धेरै नेपाली श्रमिकहरूले दक्षिण कोरियामा कानुनी जानकारी तथा रोजगारसम्बन्धी आवश्यक मार्गदर्शन प्राप्त गर्न सकेका छन्। साथै उहाँले श्रमिकहरूको हकहितका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रमहरू आयोजना गर्न समेत पहल गर्नुभएको छ। उहाँको अथक प्रयासका कारण धेरै नेपाली श्रमिकहरूले श्रम कानुनबारे बुझ्न र आफ्नो अधिकार सुरक्षित राख्न सफल भएका छन्।
उक्त कार्यक्रममार्फत चन्द्रकला ओलीले आफ्नो कार्यकालका अनुभव र नेपाली श्रमिकले भावि दिनमा अवलम्बन गर्नु पर्ने कुराहरुको बारेमा आफ्नो धारणा राख्नुहुनेछ भने विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले उहाँको योगदानको सम्मान गर्दै दोसल्ला ओढाइ अभिनन्दनका साथै शुभकामना प्रदान गर्नेछन्। कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि यो कार्यक्रम ऐतिहासिक रहने अपेक्षा गरिएको छ।
कार्यक्रमले प्रवासी नेपाली समुदायबीच आपसी समन्वय तथा सहकार्यलाई थप सशक्त बनाउन मद्दत पुग्ने विश्वास आयोजक समितिले गरेको छ। यस अवसरमा कोरियामा रहेका सबै नेपाली श्रमिक, संघसंस्था, व्यवसायी र सामाजिक तथा राजनितिक व्यक्तित्वहरूलाई उपस्थित भइ कार्यक्रमलाई भव्य बनाउन आयोजकबाट अनुरोध गरिएको छ।
तपशिल:
मिति: १८ जनवरी २०२५
समय: बेलुका ७:०० बजे
स्थान: पूजा रेष्टुरेन्टको सभाहल, दुङदेमुन




