निःशुल्क डुब्कीमा महँगो मूल्य

अर्घाखाँची सम्पर्क मञ्चः- सूचना र प्रविधिको युग मानिने एक्काइसौँ शताब्दीमा आज विश्वभर अर्बौँ मानिसहरू फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालको विशाल घेराभित्र समेटिएका छन्। सतही रूपमा हेर्दा यो मानव विकासको एक चमत्कारिक फड्को जस्तो प्रतीत हुन्छ। जहाँ मानिसले आफ्नो प्रतिभा देखाउन, सूचना पाउन र मनोरञ्जन लिन कुनै आर्थिक भार व्यहोर्नु पर्दैन। अर्बौँ डलरको लगानी र हजारौँ वैज्ञानिकहरूको दशकौँ लामो अथक प्रयासबाट निर्मित यी अत्याधुनिक प्लेटफर्महरू आम मानिसका लागि भने पूर्णतः निःशुल्क उपलब्ध छन्। तर यहाँ एउटा गम्भीर प्रश्न खडा हुन्छ। के यो साँच्चै निःशुल्क छ त? बाहिरबाट निःशुल्क जस्तो देखिने यो प्रविधिको भित्री तहमा लुकेको अदृश्य मूल्य भने हामीले सोचेभन्दा निकै महँगो साबित हुँदै गइरहेको छ।

डिजिटल अर्थतन्त्रको एक कठोर तर सर्वमान्य सत्य के हो भने यदि कुनै सामाजिक सञ्जालको प्रयोग गर्नका लागि तपाईंले पैसा तिर्नु परिरहेको छैन भने, वास्तवमा बजारमा बिक्री भइरहेको वस्तु स्वयं प्रयोग कर्ता हुनेछन्। सामाजिक सञ्जालका सन्दर्भमा यो भनाइ ज्यूँका त्यूँ लागू हुन्छ। यहाँ सामाजिक सञ्जाल निर्माता कम्पनीहरूले परोपकार गर्ने हेतुले सेवा दिइरहेका हुँदैनन् उनीहरूको वास्तविक व्यापार प्रयोगकर्ताले सञ्जालमा बिताउने समय र ध्यान हो। प्रयोगकर्ताको रुचि, बानी, कमजोरी र निर्णयहरूको सूक्ष्मतम डेटा (तथ्याङ्क) सङ्कलन गरेर तिनलाई विज्ञापन दातासामु बेच्नु नै उनीहरूको नाफाको केन्द्रीय आधार बनेको छ। त्यसैले हामी जति बढी समय सोसल मिडियाको स्क्रिनसँग बाँधिन्छौँ उति नै हाम्रो चेतना, ध्यान र व्यवहारको व्यापार भइरहेको हुन्छ।

यही व्यापारिक स्वार्थले गर्दा सामाजिक सञ्जाल प्रयोग कर्ताहरूलाई अनुभूति गर्ने विषयबाट हटाएर प्रदर्शन गर्ने वस्तुमा रूपान्तरण गरिदिएको छ। बिहानको मर्निङ वाक देखि बेलुकाको डिनर सम्मका नितान्त व्यक्तिगत पलहरूलाई पनि दुनियाँसामु पस्किने अस्वस्थ होडबाजी चलेको छ। यही देखावटीपनले मानिसको मनोविज्ञान यस्तो बनाइदिएको छ की ऊ आफ्नै आँगनमा ढकमक्क फुलेको सुगन्धित फूललाई छाडेर स्क्रिनमा देखिने रङ्गीन तर बासनाहीन प्लास्टिकको बुकेको चाहना बन्न थालेको छ। सामाजिक सञ्जालमा अरूले देखाउने जीवनसँग आफूलाई तुलना गर्नेबित्तिकै मानिसलाई आफूसँग भएको यथार्थ सुख नै फीका र अपूरो जस्तो महसुस हुन थाल्छ।

यसका साथै सामाजिक सञ्जालले हाम्रो मस्तिष्कलाई ज्ञानको सागरबाट तानेर सतही सूचनाको बगरमा ल्याएर अलपत्र पारिदिएको छ। स्क्रिन सार्ने (Scroll) तीव्र गतिसँगै हाम्रो सोच्ने तरिका र धैर्य पनि मासिँदै गएको छ। मिनेटभरि पनि एउटै विषयमा ध्यान केन्द्रित गर्न नसक्ने गरि हाम्रो मनस्थिति फास्ट फुड जस्तै फास्ट कन्टेन्टको लतमा राखेको छ। १५ देखि ६० सेकेन्डका छोटा भिडियोहरूले विषयको गहिराइ दिन सक्दैनन्। यस्तो अधुरो जानकारीले मानिसमा मैले सब जानेको छु। भन्ने मिथ्या अहङ्कार बढाउँछ। जुन अङ्ग्रेजी उखान “Little knowledge is most dangerous thing” भनेझैँ घातक हुन्छ। यही सतही ज्ञानका भरमा धारणा बनाउने बानीले समाजलाई विवेकहीन भीडमा परिणत गर्ने जोखिम बढाएको छ।

अर्को संवेदनशील पक्ष भनेको हामीले ‘लाइक’ र ‘कमेन्ट’ को क्षणिक आनन्दका लागि आफ्नो गोपनीयता आफैँ लिलाम गरिरहेका छौँ। सामाजिक सञ्जालमा राखिने जन्मदिनका शुभकामनाले जन्ममिति, शैक्षिक सफलताका पोस्टले प्रमाणपत्रका विवरण र ड्राइभिङ लाइसेन्स वा राहदानीका तस्बिरले नागरिकता लगायतका संवेदनशील व्याक्ती गत गोपनियता चुहावट हुने सूचनाहरू विश्वसामु छताछुल्ल बनाइरहेका हुन्छन्। अपराधीहरूका लागि यी विवरणहरू ‘सुनको अन्डा’ साबित हुन सक्छन्। केही लाइकको सस्तो ताली पाउनका लागि यसरी आफ्नो सुरक्षाको ढोका आफैँ खोल्नुले कतै हामी निःशुल्क डुबुल्कीमा महँगो मूल्य त चुकाइरहेका छैनौँ? यो अहिलेको पेचिलो प्रश्न हो।

अझ डरलाग्दो कुरा त के छ भने सामाजिक सञ्जालको अल्गोरिदम (Algorithm) ले समाज र परिवारलाई नजानिँदो गरी ध्रुवीकृत गरिरहेको छ।सामाजिक सञ्जालका कन्टेनका तथ्याङ्कले के देखाइरहेको छ। आम प्रयोग कर्ताहरु शान्त र रचनात्मक सामग्रीभन्दा विवादास्पद र उत्तेजक विषयमा बढी समय बिताउँछन्। कम्पनीको नाफा बढाउनका लागि अल्गोरिदमले यस्तै द्वन्द्व बढाउने सामग्रीलाई प्राथमिकता दिन्छ। फलतः घरभित्रको सामान्य मनमुटाव जब ‘कन्टेन्ट’ बनेर सञ्जालमा पोखिन्छ। तब अपरिचितहरूको भीडले दिने उत्तेजक प्रतिक्रियाले आगोमा घिउ थप्ने काम गर्छ। बिज्ञ तथा अग्रजको हितकारी सुझावलाई हस्तक्षेप ठान्ने तर भर्चुअल दुनियाँको उत्तेजनालाई सत्य मान्ने प्रवृत्तिले आजका मानवीय सम्बन्धहरू भित्रभित्रै खोक्रा बन्दै छन्। सामाजिक सञ्जालले विश्वलाई एउटै छानोमुनि ल्याउँदै दूरदराजमा लुकेर रहेका प्रतिभाहरूलाई देखाउने मञ्च दिएको छ भने सूचनाको शक्ति आम नागरिकको हातमा थमाइदिएको छ। प्रविधिको यो अभूतपूर्व विकासले मानव जीवनलाई सहज बनाउँदै युगान्तकारी फाइदाहरू दिए पनि यसको विवेकहीन प्रयोगले निम्त्याएको सङ्कटलाई हेर्ने नजरी फरक पार्नु आवश्यकता पनि देखिएको छ। अर्बौँको लगानीमा प्राप्त यो ‘निःशुल्क’ सुविधा वास्तवमा निःशुल्क नभई हाम्रो सचेतना, समय र गोपनीयतासँग साटिएको महँगो सम्झौता हो। तसर्थ प्रविधिको उपयोग गरौँ तर यसको दास नबनौँ। जबसम्म हामीले यो निःशुल्क पासोको अदृश्य मूल्य बुझ्दैनौँ तबसम्म हामी डिजिटल युगका स्वयंसेवक मात्र बनिरहनेछौँ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top