
अर्घाखाँची सम्पर्क मञ्चः मानव सभयताको बिकाश हुदै गर्दा आजको मानिस र उसको दैनिकी भित्र स्माट ग्याजेट र इन्टरनेट अवयव बन्दै गएको छ। जस्ले पठनपाठन, चिकित्सा, व्यापार, सूचना र सेवा आदि क्षेत्रका पारम्परिक ढाँचालाई उन्नत र द्रुत बनाउनु मात्रै नभएर रोजगारीका नयाँ ढाँचा सिर्जना गर्नुका साथै सूचना र ज्ञानको प्रवाहलाई अभूतपूर्व रूपमा सहज बनाएको छ। डिजिटलाईजेसन अर्थात् जीवनका विभिन्न क्षेत्रमा डिजिटल प्रविधिको समावेश, २१औं शताब्दीको एउटा अपरिमेय क्रान्ति हो। यस क्रान्तिको पदचापले संसारलाई एउटा “ग्लोबल भिलेज” मा रूपान्तरण गरेको छ।
आजको समयमा आईपुग्दा इन्टरनेटले भौगोलिक विभ्रमतालाई हटाउँदै सम्पूर्ण विश्वलाई एकीकृत गरेको छ। अमेरिकामा रहेका नासाका वैज्ञानिकहरूको अनुसन्धान गरि तयार पारेका प्रतिवेदन बिश्वभरमा छरिएर रहेका मानिसहरुले सहजै इन्टरनेटको साहयताले क्षणभरमै सुन्न र पढ्न सक्छन्। ग्लोबल पहुँचले अमेरिका, एशिया र युरोपका आर्थिक गतिविधिदेखि विभिन्न सांस्कृतिक घटनाहरूको जानकारी तत्काल पाउने वातावरण सिर्जना गरेको छ। जापान, दक्षिण कोरिया र अमेरिका जस्ता देशहरूले डिजिटलाईजेसनलाई आफ्नो आर्थिक विकासको केन्द्रमा राखेर प्रोन्नत गरेका छन्।
डिजिटलाईजेसनले नवप्रवर्तनको चारुतालाई अझ विशद रूपमा प्रकट गरेको छ। अमेरिका, जापान, दक्षिण कोरिया र युरोपेली देशहरूले यस प्रविधिलाई रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र अन्तर्राष्ट्रिय व्यापार विस्तारको लागि सफलतापूर्वक प्रयोग गरेका छन्। अमेरिका सिलिकन भ्यालीको नवप्रवर्तन, ई-कमर्स र कृत्रिम बौद्धिकता (AI) को माध्यमबाट ग्लोबल व्यापारमा आफ्नो प्रभुत्व जमाएको छ। जापानले रोबोटिक्स र इलेक्ट्रोनिक्सको नेतृत्व गर्दै अटोमेसनमा नयाँ उचाइ हासिल गरेको छ। दक्षिण कोरियाले 5G नेटवर्क, ई-कमर्स र K-pop जस्ता मनोरञ्जन उद्योगले विश्व बजारमा आफ्नो सशक्त पहिचान बनाएको छ। युरोप डेटा सुरक्षाका लागि GDPR र औद्योगिक क्रान्तिको चौथो चरण (इन्डस्ट्री ४.०) को अवधारणामा प्रविधिको उपयोग गर्दै ई-गभर्नेन्सलाई प्रोत्साहन गरेको छ।
नेपालमा डिजिटलाईजेसनको गति स्माट ग्याजेट र इन्टरनेटको सहज उपलब्धताका बावजूद अपेक्षित द्रुत गतिमा अगाडि बढ्न सकेको छैन। यसका लागि प्रमुख अवरोधहरूमा कमजोर डिजिटल पूर्वाधार, ग्रामीण क्षेत्रमा इन्टरनेटको सीमित पहुँच, प्रविधि सम्बन्धी जनचेतनाको अभाव, सरकारी नीतिमा स्पष्ट रणनीतिको कमी र नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने वातावरणको अभाव आदि पर्दछन्। नेपालका धेरै युवायुवती सामाजिक सञ्जालमा मात्र रमाउन अभ्यस्त भएका कारण डिजिटलाईजेसनबाट प्राप्त हुनुपर्ने फाइदाहरू सीमित भएका छन्। यसले नेपाललाई डिजिटलाईजेसनको पूर्ण लाभ उठाउन र विश्वस्तरमा प्रतिस्पर्धा गर्न कठिन बनाइरहेको छ।
डिजिटलाईजेसनले परम्परागत रोजगारीको धारणा परिवर्तन गर्दै नयाँ अवसरहरूको ढोका खोलेको छ। ई-कमर्स, फ्रीलान्सिङ र रिमोट वर्क जस्ता क्षेत्रले युवाहरूलाई स्वरोजगार र बाह्य मुद्रा आर्जनका अवसर प्रदान गरेका छन्। उदाहरणका लागि नेपालका युवाहरू नेपालमै बसि-बसि अमेरिका, क्यानडा र अस्ट्रेलिया जस्ता कैयौं देशका ग्राहकहरूलाई सेवाहरू प्रदान गर्दैछन्। फ्रीलान्सिङ प्लेटफर्महरूमा काम गरेर आम्दानी गर्ने र विदेशी मुद्रा आर्जन गरिरहेका यी युवाहरूले देशको आर्थिक प्रगतिको प्रक्रियालाई बल पुर्याएका छन्। यसले रोजगारीका परम्परागत संरचनालाई उन्नयन गर्दै स्वरोजगारलाई नयाँ उचाइमा पुर्याएको छ।
डिजिटलाईजेसनले शिक्षा र सीप विकासका क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ। अनलाइन तालिम, कोडिङ, डिजिटल मार्केटिङ र अन्य सीपमूलक कोर्सहरूले युवाहरूलाई डिजिटल दक्षता हासिल गर्न मद्दत पुर्याएका छन्। युवाहरूलाई अनलाइन तालिम मार्फत स्वरोजगार र उद्यमशीलताको दिशामा अघि बढ्न प्रेरित गर्न सकिन्छ। नेपालका युवाहरूले डिजिटल माध्यमबाट विश्वस्तरको पहुँच र अवसरहरू प्राप्त गर्न सक्छन्। यसले उनीहरूको जीवनस्तर मात्र नभइ देशको समग्र विकासमा पनि योगदान पुर्याउँछ।
नेपालमा डिजिटलाईजेसनको प्रभावकारी कार्यान्वयनका लागि डिजिटल पूर्वाधारलाई मजबुत बनाउनु, डिजिटल शिक्षामा ध्यान दिनु र युवालाई नवप्रवर्तन र उद्यमशीलताको दिशामा अगाडि बढाउन प्रेरित गर्नु आवश्यक छ। डिजिटल माध्यमको सकारात्मक प्रयोगबारे जनचेतना फैलाउने अभियान सञ्चालन गरिनुपर्छ।
डिजिटलाईजेसनले नेपाली प्राकृतिक सौन्दर्य र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गर्न मद्दत पुर्याउन सक्छ। यसले पर्यटन उद्योगमा प्रचुर अवसरहरू सिर्जना गर्न सक्नेछ। साथै युवाहरूलाई डिजिटल सीप र उद्यमशीलता प्रदान गर्न सकेमा उनीहरूले विश्व बजारमा नेपाललाई एक सशक्त राष्ट्रको रूपमा प्रस्तुत गर्न सक्नेछन्। डिजिटलाईजेसनको चारुताले राष्ट्रको आर्थिक उन्नयन गर्दै युवाहरूलाई आत्मनिर्भर बनाउने र नयाँ रोजगारीका अवसरहरू सृजना गर्नेछ। यदि समस्या र चुनौतीहरूको समाधान सही र दीगो रूपमा गरियो भने डिजिटलाईजेसनले नेपालको समृद्ध भविष्य निर्माणमा एक महत्त्वपूर्ण भूमिका खेल्नेछ।
सि.एन.भण्डारी
लेखक अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाका सचिव हुन् ।



