
जब-जब आकाशमा बादलका टुक्राहरूले मनमोहक आकार लिन थाल्छन् तब धर्ती हरियो रङले मुस्कुराउँछे अनि नेपाली घरआँगनहरूमा विशेष रौनक छाउँछ। हामी बुझ्छौं— तीज आउँदैछ। राता सारी, हरिया चुरा, हातमा सजिएको मेहन्दी र हावामा गुञ्जिरहेका कर्णप्रिय …बरिऽलैऽ का भाकामा तीज गीतहरू यो दृश्य हरितालिका तीजको हो। जुन केवल एक पर्व मात्र होइन् यो नेपाली नारीहरूको आस्था, पहिचान, एकता र भावनाको एक जीवन्त उत्सव पनि हो।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने यो पर्व धार्मिक, सामाजिक र सांस्कृतिक आयामहरूको एउटा सुन्दर संगम हो। यसले एकातिर भगवान् शिव र पार्वतीको अलौकिक प्रेमगाथालाई सम्मान गर्छ भने अर्कोतिर महिलाहरूलाई आफ्ना दुःख-सुख बाँड्ने स्वतन्त्रतापूर्वक नाच्ने-गाउने र माइतीको मायामा रमाउने अनुपम अवसर प्रदान गर्दछ।
हरेक महान् पर्वको पछाडि एउटा शक्तिशाली कथा लुकेको हुन्छ। हरितालिका तीजको कथा पनि त्यस्तै प्रेरणादायी छ। जुन भगवान् शिव र माता पार्वतीको अटूट प्रेम र समर्पणमा आधारित छ।
पौराणिक मान्यताअनुसार हिमालय पर्वतकी पुत्री पार्वतीले मनमनै भगवान् शिवलाई आफ्नो पतिको रूपमा वरण गरिसकेकी थिइन्। उनले शिवलाई पाउनका लागि कठोरभन्दा कठोर तपस्या गरिन्। तर उनका पिता हिमालयले भगवान् विष्णुबाट आएको विवाहको प्रस्ताव स्वीकार गरे जुन कुरा पार्वतीलाई पटक्कै मन परेन।
आफ्नो इच्छाविपरीत हुन लागेको विवाहबाट विक्षिप्त भएकी पार्वतीले आफ्ना सबै व्यथा आफ्ना सखीहरू (साथीहरू) लाई सुनाइन्। पार्वतीको दृढ संकल्प र शिवप्रतिको अनन्य प्रेम देखेर उनका सखीहरूले उनलाई सहयोग गर्ने निर्णय गरे। उनीहरूले पार्वतीलाई कसैले नदेख्ने गरी जंगलमा लगेर लुकाए। यसरी साथीहरूद्वारा पार्वतीको हरण गरिएको थियो।
संस्कृतमा “हरित” को अर्थ हरण गरिएको र “आलिका” को अर्थ साथीहरू भन्ने हुन्छ। यसरी साथीहरूले हरण गरेर लगेको हुनाले नै यस व्रतको नाम “हरितालिका” रहन गएको हो। त्यस एकान्त जंगलमा पार्वतीले बालुवाको शिवलिङ्ग बनाई निराहार र निर्जला व्रत बसेर कठोर तपस्या गरिन्। उनको यही तपस्याबाट प्रसन्न भई भगवान् शिव प्रकट हुनुभयो र उनलाई पत्नीको रूपमा स्वीकार गर्नुभयो। शिव र पार्वतीको विवाह सम्पन्न भएको त्यो शुभ दिन भाद्र शुक्ल तृतीया थियो। त्यसै दिनदेखि हिन्दु नारीहरूले आफ्नो मनोकामना पूरा होस्, सुयोग्य वर प्राप्त होस् वा विवाहितहरूले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै यो व्रत बस्ने परम्परा सुरु भयो।
तीज केवल एक धार्मिक अनुष्ठानमा सीमित छैन। यसले नेपाली समाज, विशेषगरी महिलाहरूको जीवनमा गहिरो र बहुआयामिक प्रभाव पारेको छ। तीजको केन्द्रीय भाव भनेको धार्मिक आस्था नै हो। विवाहित महिलाहरूका लागि यो व्रत आफ्नो पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामनासँग जोडिएको छ। दिनभरि पानीसमेत नपिई व्रत बस्नुलाई उनीहरू आफ्नो पतिप्रतिको प्रेम, समर्पण र त्यागको प्रतीक मान्छन्। यसले दाम्पत्य जीवनलाई थप बलियो र प्रेममय बनाउन मद्दत गर्छ भन्ने विश्वास छ।अविवाहित युवतीहरूका लागि उनीहरूले देवी पार्वतीले जस्तै भगवान् शिवजस्तै आदर्श, ज्ञानी र माया गर्ने पति पाऊँ भन्ने कामनाका साथ व्रत बस्छन्। यो व्रतले उनीहरूलाई धैर्य, संकल्प र आस्थाको पाठ सिकाउँछ।
तीजलाई महिलाहरूको माइतीघर फर्कने पर्वको रूपमा पनि चिनिन्छ। विवाहपछि आफ्नो घरपरिवार र जन्मथलो छोडेर पराइघरमा जीवन बिताइरहेका छोरीचेलीहरूका लागि तीज माइतीघरको स्नेह र ममतामा रमाउने एउटा सुनौलो अवसर हो।तीज आउँनु केहि दिन अघि नै दाजुभाइहरू आफ्ना दिदीबहिनीलाई लिन उनीहरूको घर पुग्छन्। यो परम्पराले भाईबहिनीको सम्बन्धलाई थप प्रगाढ बनाउँछ।
अहिलेको आधुनिक युगमा जस्तो पहिला सञ्चार यातायतको कुनै साधन थिएन, महिलाहरू वर्षभरि घरभित्र भोगेका दुःख, पीडा, एक्लोपन र खुसीका कुराहरू आफ्ना साथीसंगी र दिदीबहिनीसँग बाँड्न तीज नै पर्खन्थे। उनीहरूले गीत र नाचको माध्यमबाट आफ्ना मनका बह पोख्थे जसले उनीहरूको मानसिक तनाव कम गर्न मद्दत गर्थ्यो। यसरी तीज महिलाहरूलाई आफ्ना भावना व्यक्त गर्ने एउटा सुरक्षित र स्वतन्त्र मञ्च बनिदिन्थ्यो।
तीज नेपाली संस्कृतिको एक जीवन्त र रङ्गीन पाटो हो।जब नारिहरु रातो पहिरनमा सजिन्छन्, जसलाई प्रेम र सौभाग्यको प्रतीक मानिन्छ। हरियो र पहेँलो चुरा, पोते, तिलहरी र हातमा लगाएको मेहन्दीले उनीहरूको सौन्दर्यलाई अझै निखार्छ। तीजका मौलिक गीतहरू नेपाली लोकसंस्कृतिका अमूल्य निधि हुन्। यी गीतहरूमा महिलाका सुखदुःख, पारिवारिक सम्बन्ध, सामाजिक विकृति र प्रेमका भावनाहरू समेटिएका हुन्छन्। समूहमा मिलेर गाइने गीत र त्यसमा गरिने उन्मुक्त नृत्यले तीजको वातावरणलाई उल्लासमय बनाउँछ।
बदलिँदो परिवेश सँगै समय परिवर्तनशील छ। यसको प्रभाव तीजमा पनि परेको छ। तीजका गीतहरू अब केवल दुःख र वेदना पोख्ने माध्यम मात्र रहेनन्। महिलाहरूले आफ्ना गीतहरूमार्फत महिला अधिकार, लैंगिक समानता, घरेलु हिंसा र सामाजिक विकृतिविरुद्ध आवाज उठाउन थालेका छन्। पहिले महिलाहरूमा मात्र सीमित यो पर्वमा अब पुरुषहरूले पनि साथ दिन थालेका छन्। पत्नी व्रत बस्दा पतिको सहयोग, दर पकाउन मद्दत र सँगै रमाइलो गर्ने प्रवृत्ति बढ्दै गएको छ। जसले पारिवारिक सम्बन्धलाई सुमधुर बनाउँछ।
हरितालिका तीज नेपाली नारीहरूको आत्मगौरव, आस्था र सामाजिक एकताको एक शक्तिशाली पर्व हो। यो धर्म, संस्कृति र भावनाको एउटा यस्तो त्रिवेणी हो। जहाँ हरेक महिलाले आफूलाई स्वतन्त्र र सम्मानित महसुस गर्छे। यो पर्वले पारिवारिक सम्बन्धलाई नवीकरण गर्दै दिदीबहिनीबीचको आत्मीयता बढाउने र धार्मिक आस्थालाई जीवन्त राख्ने काम गर्दछ। समयसँगै यसका केही पक्षहरू बदलिएका होलान् तर यसको मूल आत्मा आज पनि उस्तै छ समर्पण, प्रेम र उत्सव। आजको आवश्यकता भनेको तीजको भड्किलो र खर्चिलो पक्षलाई निरुत्साहित गर्दै यसको वास्तविक मर्म र सांस्कृतिक सौन्दर्यलाई जोगाउनु हो। तीजको साँचो सौन्दर्य महँगा कपडा र गरगहनामा होइन् बरु परिवारको माया, साथीसंगीको साथ र मनको शुद्ध भावनामा निहित छ।




