
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाः- परदेशी भूमिमा आफ्नो संस्कृति र पहिचानलाई जीवन्त राख्ने हाम्रो अभियान लाई सार्थक बनाउँदै, नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा अर्घाखाँची सम्पर्क मञ्च, दक्षिण कोरियाद्वारा आयोजित “सुपादेउराली तीज विशेष कार्यक्रम-२०२५” यहाँहरूको अपार माया, गरिमामय उपस्थिति र सक्रिय सहभागितामाझ ऐतिहासिक रूपमा भव्य र सभ्य तवरले सम्पन्न भएको सुखद् जानकारी गराउँदछौं। दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन शहरमा भएको उक्त कार्यक्रम स्थलमा देखिएको नेपाली चेलीबेटी तथा दाजुभाइहरूको उल्लासमय जमघटले हामीलाई आफ्नो मातृभूमि र संस्कृतिप्रति अझ गहिरो रूपमा जोडेको छ। यस कार्यक्रमको अभूतपूर्व सफलताले हामीलाई अत्यन्तै हर्षित, उत्साहित र गौरवान्वित तुल्याएको छ।
हरितालिका तीज केवल एक पर्व मात्र होइन, यो नेपाली नारीहरूको आस्था, त्याग, प्रेम, समर्पण र सांस्कृतिक पहिचानको जीवन्त प्रतिबिम्ब हो। पौराणिक कालमा देवी पार्वतीले भगवान् शिवलाई पति पाउनका लागि गर्नुभएको कठोर तपस्या र व्रतको स्मरणमा मनाइने यो पर्वले पारिवारिक सु-स्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको कामनालाई समेटेको छ। यसले माइती र चेलीबेटीबीचको स्नेहपूर्ण सम्बन्धलाई प्रगाढ गर्दछ। दिदीबहिनीहरूलाई एकै ठाउँमा भेला भई आफ्ना सुख-दुःख साट्ने अवसर प्रदान गर्दछ र सामाजिक सद्भाव एवं एकताको डोरीलाई अझ बलियो बनाउँछ। यही पवित्र भावना र सांस्कृतिक मर्मलाई आत्मसात् गर्दै, अर्घाखाँचीको आस्थाको केन्द्र सुपादेउराली माताको नाममा आयोजित यस कार्यक्रमले परदेशमा आफ्नोपनको न्यानो अनुभूति गराउँन सफल भएको हाम्रो विश्वास छ।
कार्यक्रमलाई सफल बनाउँन विभिन्न क्षेत्रबाट प्राप्त सहयोग अविस्मरणीय छ। हामी प्रत्येक योगदानको उच्च कदर गर्दै हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं। हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो व्यस्त र महत्वपूर्ण समयका बाबजुद कार्यक्रममा पाल्नुभई कार्यक्रमको गरिमा र ओज बढाइदिनुहुने कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य सम्पूर्ण अतिथिगणमा हामी नतमस्तक छौं। यहाँहरूको प्रेरणादायी मन्तव्य/शुभकामना र उपस्थितिले हामीलाई थप ऊर्जा र हौसला प्रदान गरेको छ।

आफ्नो कला र गलाको अनुपम प्रस्तुतिले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै, नेपालको गाउँ-बेसीको झल्को दिलाउँदै र तीजको वास्तविक रौनक सिर्जना गर्नुहुने सम्पूर्ण कलाकारहरू प्रति हामी विशेष आभार प्रकट गर्दछौं। यहाँहरूको दमदार प्रस्तुति जसले सबैलाई एकै सुरमा झुमेर रमाउँने बनायो। कार्यक्रममा भौतिक रूपमै उपस्थित भई ऐक्यबद्धता जनाउनुहुने दक्षिण कोरियामा क्रियाशील विभिन्न संघ-संस्थाका अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू, व्यवसायीहरू, समाजसेवीहरू, पत्रकार मित्रहरू तथा विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तित्वहरूप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। यहाँहरूको सहभागिताले नेपाली समुदायको एकता र सहकार्यको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
कुनै पनि ठूलो कार्यक्रमको सफलता पर्दा पछाडि बसेर अहोरात्र खट्नेहरूको अथक मिहिनेत र निस्वार्थ सहयोगमा टिकेको हुन्छ। यस कार्यक्रमलाई सफल र स्मरणीय बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक, भौतिक र नैतिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरू, कार्यक्रम संयोजक समितिका सम्पूर्ण सदस्यहरू, अहोरात्र खट्नुहुने स्वयंसेवकहरू तथा समस्त शुभेच्छुकहरूप्रति हामी कृतज्ञता व्यक्त गर्दछौं। यहाँहरूको निस्वार्थ योगदान र साथ बिना यो कार्यक्रमको परिकल्पनासमेत सम्भव थिएन।

अन्ततः यो कार्यक्रम यहाँहरूकै लागि थियो र यहाँहरूकै उत्साहजनक सहभागिताले यसलाई जीवन्त र सार्थक बनाएको छ। सुन्दर र परम्परागत वेशभूषामा सजिएर, आफ्नो परिवार र साथीभाइसँगै कार्यक्रममा उपस्थित भई शुभकामना, माया र आशीर्वाद प्रदान गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू नै यस कार्यक्रमका वास्तविक प्राण हुनुहुन्थ्यो। यहाँहरूको हाँसो, ताली र नृत्यले नै कार्यक्रममा ऊर्जा भरेको थियो। यहाँहरूको अपार मायाप्रति हामी सदैव ऋणी रहनेछौं।
यस कार्यक्रमको सफलताले हामीलाई भविष्यमा अझ परिस्कृत, बृहत् र अर्थपूर्ण सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्नका लागि थप प्रेरणा र जिम्मेवारी बोध गराएको छ। आगामी दिनहरूमा पनि यहाँहरूको यस्तै निरन्तर साथ, सहयोग र सद्भावको अपेक्षा राख्दै, यस कार्यक्रमको आयोजनाका क्रममा भएका कुनै पनि कमी-कमजोरीहरूप्रति हामी क्षमाप्रार्थी छौं। पुनः “सुपादेउराली तीज विशेष कार्यक्रम–२०२५” लाई ऐतिहासिक रूपमा सफल बनाउनुहुने यहाँ सबैप्रति हार्दिक धन्यवाद ! स-धन्यवाद !





